न्यूयोर्क । विश्वकै सांस्कृतिक सहर मानिने न्यूयोर्कमा पहिलोपटक दश राष्ट्रका बौद्ध समुदाय एउटै मञ्चमा भेला भई संयुक्त रूपमा अन्तर्राष्ट्रिय बुद्ध पूर्णिमा (इन्टरनेशनल वैशाख डे २०२६) मनाएका छन् ।
न्यूयोर्कस्थित ज्याक्सन हाइट्स स्कूलमा आयोजित समारोहको आयोजना बंगलादेश बुद्धिस्ट कम्युनिटी अफ न्यूयोर्क इन्क (बीबीसीएनवाई)ले गरेको हो ।

कार्यक्रममा बंगलादेशसहित नेपाल, भुटान, चीन, भारत, जापान, म्यानमार, श्रीलंका, थाइल्यान्ड र तिब्बतका बौद्ध समुदायका सयौं श्रद्धालु, भिक्षु, सामाजिक अगुवा तथा स्वयंसेवकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
आयोजकका अनुसार ३३ वटा विभिन्न संस्थाको सहभागिताले यसलाई न्यूयोर्कमा हालसम्म आयोजना भएका सबैभन्दा ठूला अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमध्ये एक बनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि न्यूयोर्क सिटीका मेयर जोहरान ममदानीले बुद्धका शान्ति, करुणा र प्रज्ञाका शिक्षाहरू आजको विश्वका लागि अझ बढी सान्दर्भिक बनेको उल्लेख गर्दै विभिन्न देशका बौद्ध समुदायलाई एउटै मञ्चमा ल्याएकोमा आयोजकको प्रशंसा गरे । उनले विविधता विभाजनको कारण नभई समाजको सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै बहुसांस्कृतिक समाजमा पारस्परिक सम्मान, सहिष्णुता र एकताको संस्कृतिलाई बलियो बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

समारोहमा इन्टरनेशनल वैशाख डे २०२६ सेलिब्रेशन समितिका प्रमुख सल्लाहकार उर्गेन शेर्पाले सम्पूर्ण बौद्ध समुदायको तर्फबाट मेयर ममदानीलाई बुद्धको प्रतिमा सम्मानस्वरूप प्रदान गरेका थिए ।
समारोहमा विश्वका प्रतिष्ठित भिक्षुहरूले करुणा, मैत्री, प्रज्ञा र विश्वशान्तिबारे धर्मदेशना दिएका थिए । कार्यक्रमको सुरुआत पाली, संस्कृत र तिब्बती भाषामा मंगल पाठ, पुष्प अर्पण तथा प्रार्थनाबाट गरिएको थियो । साथै, समारोहको मुख्य आकर्षण ज्याक्सन हाइट्स क्षेत्रमा आयोजना गरिएको शान्ति पदयात्रा रहेको थियो ।
आयोजकका अनुसार न्यूयोर्क शहरको इतिहासमै पहिलोपटक बुद्ध पूर्णिमाका अवसरमा चारवटा सडकखण्ड बन्द गरेर शान्ति यात्रा सञ्चालन गरिएको हो । सयौं सहभागीहरूले बौद्ध झण्डा, धार्मिक छाता तथा शान्तिका सन्देश बोकेका ब्यानरसहित विश्वशान्तिको कामना गर्दै पदयात्रामा सहभागिता जनाएका थिए ।
दिउँसो आयोजित सांस्कृतिक कार्यक्रममा नेपाल, बंगलादेश, तिब्बत, म्यानमार र भुटानलगायत विभिन्न देशका बालबालिकाले सांस्कृतिक प्रस्तुति दिएका थिए ।
आयोजकका अनुसार अन्तर्राष्ट्रिय बुद्ध पूर्णिमा–२०२६ केवल धार्मिक समारोहमा सीमित नरही बुद्धका करुणा, अहिंसा, मैत्री तथा सहअस्तित्वका सन्देशलाई विश्वसामु प्रस्तुत गर्ने अभियानका रूपमा स्थापित भएको छ ।
समारोहमा बीबीसीएनवाईका अध्यक्ष शुभाशीष बरुआ, महासचिव अमित बरुआ तथा समारोहका सदस्य सचिव श्यामाश्री बरुआ लगायतले सम्बोधन गरेका थिए ।
कार्यक्रममा बुद्धको जन्मस्थल लुम्बिनीलाई समर्पित ‘लुम्बिनी’ नामक स्मारिका पनि विमोचन गरिएको थियो ।








प्रतिक्रिया