काठमाडौं । एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डा दुईदिने औपचारिक भ्रमणका लागि नेपाल आइपुगेका छन्। उनको भ्रमणका क्रममा प्रधानमन्त्री बालेन्द्र शाह, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तथा अन्य उच्च सरकारी अधिकारीहरूसँग विकास सहकार्य र आगामी साझेदारीबारे छलफल हुने कार्यक्रम तय गरिएको छ।
अर्थ मन्त्रालयका अनुसार कान्डाले नेपालमा सञ्चालन भइरहेका एडीबीका प्रमुख विकास आयोजनाको स्थलगत अवलोकनसमेत गर्नेछन्। साथै, भन्सार तथा पारवहन सुधार र खानेपानी तथा ढल व्यवस्थापनसँग सम्बन्धित दुई सहकार्य सम्झौतामा हस्ताक्षर हुने तयारी गरिएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहसँग हुने भेटलाई विशेष महत्वका साथ हेरिएको छ। प्रधानमन्त्री बनेपछि शाहले एडीबी अध्यक्षसँग पहिलो औपचारिक द्विपक्षीय भेट गर्न लागेका हुन्।
नेपाल आगमनपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै अध्यक्ष कान्डाले नेपालले विभिन्न चुनौतीबीच पनि उल्लेखनीय सहनशीलता र पुनःउत्थान क्षमता प्रदर्शन गरेको बताएका छन्। उनले एडीबी नेपालका लागि सबैभन्दा ठूलो विकास साझेदारमध्ये एक भएको उल्लेख गर्दै दिगो आर्थिक वृद्धि, रोजगारी सिर्जना र पूर्वाधार विकासमा संस्थाको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले नयाँ सरकारले विकासका प्राथमिकता तय गरिरहेका बेला नेपालसँगको दीर्घकालीन सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा सम्बन्धित पक्षसँग विचार आदानप्रदान गर्ने अवसरका रूपमा आफ्नो भ्रमणलाई लिएको पनि बताएका छन्।







प्रतिक्रिया