काठमाडौं । चैत १३ गते गठित सरकार १०० दिन पूरा गर्ने संघारमा रहँदा प्रतिपक्षी दल नेकपा (एमाले)का प्रमुख सचेतक ऐनबहादुर महरले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । महरले वर्तमान सरकारको १०० दिन अत्यन्तै विवादास्पद र निराशाजनक रहेको टिप्पणी गरेका हुन् ।
प्रमुख सचेतक महरले सरकार संविधान र कानुनको कार्यान्वयन गर्नुको साटो सर्वसत्तावाद, स्वेच्छाचारिता र तानाशाही बाटोतर्फ उन्मुख भएको आरोप लगाए । उनले सरकार जनअपेक्षा पूरा गर्न पूर्णत असफल भएको र आफूलाई ठूलो जनमत प्राप्त भएको दम्भमा सरकारले लोकतान्त्रिक मूल्यमान्यतालाई नै कमजोर बनाउने काम गरिरहेको बताए ।

महरले सरकारले सपना मात्र बाँड्ने तर कार्यान्वयन पक्ष भने निकै फितलो र कमजोर रहेको दाबी गरे । हिजो अभियन्ताको भूमिकामा रहेकाहरू अहिले सत्तामा पुगेपछि परिपक्वता, प्रष्ट योजना र जवाफदेहिताको साटो जनतामा डर र त्रासको वातावरण सिर्जना गर्न उद्दत रहेको उनको जिकिर छ ।
राज्यसत्ता कब्जा गर्ने नियतले सरकार अगाडि बढेको आरोप लगाउँदै महरले सुशासन, भ्रष्टाचार नियन्त्रण र रोजगारी सिर्जना जस्ता जनचासोका विषयमा सरकारको ध्यान पुग्न नसकेको बताए । बरु, सरकार प्रतिशोध साध्ने र आफूलाई मन नपर्ने व्यक्ति वा दललाई ‘ठिक पार्ने’ तर्फ केन्द्रित भएको उनले उल्लेख गरे ।
महरले मन्त्रालयहरूको संख्या घटाउने भनी भ्रम सिर्जना गरेर अन्तत मन्त्रीहरूको स्वकीय सचिवालयमा भारी संख्यामा सल्लाहकार थपेर राज्यलाई व्ययभार बढाउने काम भएको भन्दै यसले सुशासन नभई कुशासन निम्त्याउने जिकिर गरे । यसले कर्मचारीतन्त्रलाई निष्क्रिय बनाउने र स्थापित मूल्यमान्यतालाई लथालिङ्ग बनाउने प्रयास भइरहेको उनको भनाइ छ ।
सरकारले ल्याएको १०० बुँदे कार्ययोजनाको कार्यान्वयन १० प्रतिशत पनि हुन नसकेको जिकिर गर्दै महरले सरकारको व्यवहार उरन्ठेउलो र ‘वचपन’पूर्ण रहेको आरोप लगाए । उनले सरकारको कार्यशैली देश र लोकतन्त्रका लागि अत्यन्तै चिन्ताजनक र खतरनाक भएको चेतावनी दिए । एमाले परम्परागत रूपमा विरोधका लागि विरोध गर्ने पक्षमा नरहेको स्पष्ट पार्दै महरले रचनात्मक र जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको बताए ।

सरकारले जनताको पक्षमा, संविधान र विधिको शासनअनुसार काम गर्दा आफ्नो पूर्ण समर्थन रहने तर कमजोरी वा गलत काम गरेमा कडा खबरदारी र प्रश्न गर्ने उनले प्रष्ट पारे । प्रधानमन्त्रीको संसदीय भूमिकाप्रति कटाक्ष गर्दै महरले संविधानको धारा ७६ (१०) अनुसार सरकार सदनप्रति उत्तरदायी हुनुपर्ने भए पनि प्रधानमन्त्रीले संसदलाई नै उपेक्षा र अपमान गरेको आरोप लगाए । संसदमा आउने शैली र उपस्थितिबाटै प्रधानमन्त्रीले लोकतन्त्र र सार्वभौमसत्ताको अवहेलना गरिरहेको उनले टिप्पणी गरे ।
महरले अपार जनमत पाएको सरकारले युवा पुस्ताप्रति जगाएको आशामा सुरुमै तुषारापात भएको बताए । एक महिना नबित्दै नागरिकहरू सडकमा उत्रिनुपर्ने अवस्था आउनु सरकारको ठूलो असफलता भएको बताउँदै उनले सरकार यही प्रवृत्तिमा चले ६ महिना टिक्न पनि मुस्किल पर्ने दाबी गरे ।









प्रतिक्रिया