काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड सिंगापुरस्थित एशियन बैंकिङ एण्ड फाइनान्स (एबीएफ)द्धारा चार अन्तर्राष्ट्रिय बैंकिङ अवार्डबाट सम्मानित भएको छ ।
एबीएफको होलसेल बैंकिङ अवार्ड २०२६ अन्तर्गत नेपाल एसबिआई बैंक ‘नेपाल डोमेस्टिक लिक्विडिटी म्यानेजमेन्ट बैंक अफ द इयर’, ‘नेपाल डोमेस्टिक ट्रेड फाइनान्स बैंक अफ द इयर’, तथा रिटेल बैंकिङ्ग अवार्ड २०२६ अन्तर्गत ‘डोमेस्टिक रिटेल बैंक अफ द इयर (नेपाल)’ र ‘एसएमई बैंक अफ द इयर (नेपाल)’बाट सम्मानित भएको हो ।
बैंकका अनुसार यी अन्तर्राष्ट्रिय सम्मानहरूले बैंकले प्रदान गरिरहेको होलसेल तथा रिटेल बैंकिङ सेवाहरूमा तरलता व्यवस्थापन, व्यापार वित्त, उत्कृष्ट बैंकिङ अभ्यास तथा नवप्रवर्तनप्रति बैंकको अटल प्रतिबद्धतालाई जोड दिन्छ । ‘यस अवसरमा हामीप्रति निरन्तर विश्वासका साथ सहकार्य गर्नुहुने हाम्रा आदरणीय सेयरधनी तथा ग्राहकहरूमा हार्दिक आभार व्यक्त गर्दछौँ । साथै, हाम्रो उन्नति र सफलतामा महत्वपूर्ण भूमिका खेल्नुहुने नियामक निकायहरूबाट प्राप्त मार्गदर्शन र सहयोगप्रति हामी हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ । यसले हामीलाई हाम्रा सेवाहरू अझ सुदृढ बनाउन तथा राष्ट्रको आर्थिक विकास र समृद्धिमा योगदान पुर्याउन प्रेरित गर्दछ ।’ बैंकले भनेको छ ।
नेपाल एसबिआई बैंकले विगत ३२ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । हाल बैंकका १०३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखारहीत बैंकिङ, १२७ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।










प्रतिक्रिया