काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पाँच जना जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ ।
महालक्ष्मी विकास बैंकमा विभिन्न समयमा एकीकृत भएका संस्थाहरुको संस्थापक अध्यक्ष स्व. लक्ष्मणबाबु श्रेष्ठ, स्व. हरिप्रसाद गिरि, स्व. अशोक श्रेष्ठ, स्व. नवराजबहादुर सिंह तथा स्व. सीताराम प्रसाईको स्मृतिमा स्थापित छात्रवृत्ति सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार, विपन्न तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई अध्ययनमा सहयोग पुर्याउने उद्धेश्यका साथ प्रति विद्यार्थी ५० हजार रुपैयाँ बराबरको रकम छात्रवृत्तिको रुपमा प्रदान गरिएको हो ।
स्व. लक्ष्मणबाबु श्रेष्ठ महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति नन्दी माध्यमिक विद्यालय नक्साल, काठमाडौं कक्षा ९ मा अध्ययनरत छात्र विपिन बुढालाई एक कार्यक्रमका बीच स्व. श्रेष्ठका छोरा राजेशबाबु श्रेष्ठ तथा बैंकका प्रमुख कार्यकारी अधिकृतले संयुक्त रुपमा विद्यालयका प्रधानध्यापक गिता काफ्लेमार्फत प्रदान गरिएको छ । साथै, स्व. हरिप्रसाद गिरि महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, भवानीपुर वीरगञ्ज–०८, पर्सामा अध्ययनरत छात्रा अनिशा शाहलाई बैंकको सञ्चालक श्यामसुन्दर रुंगटामार्फत प्रदान गरिएको छ भने स्व. नवराजबहादुर सिंह महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति सारदा माध्यमिक विद्यालय, धनगढी, कैलालीमा कक्षा ९ मा अध्ययनरत छात्रा गुञ्जन सुनारलाई बैंकको सञ्चालक सागर मल्लमार्फत प्रदान गरिएको छ ।
त्यसैगरी, स्व. अशोक श्रेष्ठ महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति अमर माध्यमिक विद्यालय हेटौंडा, मकवानपुरमा कक्षा ९ मा अध्ययनरत छात्रा सुमिना लामिछानेलाई बैंकका बागमती ख प्रदेश प्रमुखमार्फत प्रदान गरिएको छ भने स्व. सीताराम प्रसाइ महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति सिताराम सामुदायिक अंग्रजी विद्यालय मेचीनगर १४, झापामा अध्ययनरत छात्रा मुस्कान खातुनलाई गत पुस महिनामा नै प्रदान गरिएको हो । यस प्रकारको संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रमबाट विद्यार्थीहरुलाई आर्थिक अभावकै कारण अध्ययनबाट वञ्चित हुनुपर्ने बाध्यता हट्ने विश्वास बैंकले लिएको छ ।
‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३२ वर्षदेखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकको देशभर करिब ८ लाखभन्दा बढी ग्राहकहरु रहेका छन् ।








प्रतिक्रिया