काठमाडौं । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले २०२६ फिफा विश्वकपको नकआउट चरणमा क्रोएसियाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो नाममा दुई ऐतिहासिक कीर्तिमान थपेका छन्। २–१ को पुनरागमन जितमा उनले पेनाल्टीमार्फत महत्त्वपूर्ण गोल गर्दै टोलीलाई अन्तिम १६ मा पुर्याउन निर्णायक भूमिका निर्वाह गरे।
४१ वर्ष १४७ दिनको उमेरमा मैदान उत्रिएका रोनाल्डो विश्वकपको नकआउट चरणमा खेल्ने इतिहासकै सबैभन्दा पाका आउटफिल्ड खेलाडी बने। त्यससँगै ६८औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै उनले विश्वकपको नकआउट चरणमा गोल गर्ने सबैभन्दा बढी उमेरका खेलाडीको कीर्तिमान पनि आफ्नो नाममा दर्ता गराए। विश्वकपको नकआउट चरणमा यो उनको करियरकै पहिलो गोलसमेत हो।
क्रोएसियाले खेलमा सुरुआती अग्रता लिए पनि रोनाल्डोको गोलले पोर्चुगललाई बराबरीमा फर्कायो। त्यसपछि इन्जुरी समयको चौथो मिनेटमा गोन्सालो रामोसले निर्णायक गोल गर्दै पोर्चुगललाई अन्तिम १६ मा प्रवेश गराए। खेलको अन्तिम समयमा क्रोएसियाले गरेको बराबरी गोल भने भिडियो सहायक रेफ्री (भिएआर)को निर्णयपछि अफसाइड ठहर गर्दै रद्द गरिएको थियो।
यो खेलसँगै रोनाल्डोको विश्वकप सहभागिता २६ खेल पुगेको छ। उनी विश्वकपमा सर्वाधिक खेल खेल्ने खेलाडीको सूचीमा लोथार म्याथाउसको २७ खेलको कीर्तिमानभन्दा एक खेल मात्र पछाडि छन्। यस सूचीको शीर्ष स्थानमा लियोनेल मेस्सी २९ खेलसहित रहेका छन्।
यस खेलको अर्को विशेष पक्ष भनेको ४० वर्षभन्दा माथिका दुई चर्चित आउटफिल्ड खेलाडीबीचको प्रतिस्पर्धा रह्यो। पोर्चुगलका रोनाल्डो र क्रोएसियाका कप्तान लुका मोड्रिच पहिलो पटक विश्वकप इतिहासमा ४० वर्ष नाघेका दुई आउटफिल्ड खेलाडीका रूपमा आमनेसामने भएका हुन्।
यस जितसँगै पोर्चुगलले अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ । पोर्चुगलले अब २०१० को विजेता स्पेनसँग प्रतिस्पर्धा गर्नेछ।








प्रतिक्रिया