काठमाडौं । मेटाको स्वामित्वमा रहेको व्हाट्सएपले प्रयोगकर्तालाई फोन नम्बर नदेखाई सम्पर्क गर्न सकिने नयाँ युजरनेम सुविधा ल्याउने तयारी गर्दै यसको अग्रिम रिजर्भेसन प्रक्रिया सुरु गरेको छ ।
कम्पनीका अनुसार यो सुविधा आगामी महिनाहरूमा चरणबद्ध रूपमा विश्वभरका प्रयोगकर्तासम्म पुग्नेछ । हाल प्रयोगकर्ताले आफूलाई मनपर्ने युजरनेम पहिले नै सुरक्षित गर्न सक्नेछन् । जुन सुविधा पूर्ण रूपमा लागू भएपछि प्रयोगमा आउनेछ ।
व्हाट्सएपले आफ्नो आधिकारिक ब्लगमा यो अपडेट प्रयोगकर्ताको गोपनीयता बढाउने उद्देश्यले ल्याइएको जनाएको छ । विशेषगरी अपरिचित व्यक्ति, ठूला समूह च्याट तथा व्यवसायसँगको संवादमा अब फोन नम्बर देखिने छैन ।
कम्पनीले भनेको छ, ‘नयाँ व्यक्तिसँग भेट हुँदा फोन नम्बर दिनु ठूलो कुरा जस्तो लाग्न सक्छ । त्यसैले अब केवल कुराकानीका लागि फोन नम्बर अनिवार्य हुनेछैन ।’
सुरक्षालाई ध्यानमा राख्दै कम्पनीले ‘युजरनेम कि’ नामक अतिरिक्त सुरक्षा प्रणाली पनि ल्याउने भएको छ । यसका लागि कसैलाई सम्पर्क गर्न युजरनेम मात्र नभई थप कोड पनि आवश्यक पर्नेछ ।
त्यस्तै, युजरनेम प्रणालीमा सार्वजनिक डाइरेक्टरी वा सर्च सुझाव नहुने भएकाले अनावश्यक मेसेज आउने जोखिम घट्ने कम्पनीको दाबी छ । कम्पनीका अनुसार ३५ अक्षरसम्मको युजरनेम राख्न सकिनेछ, जसमा अक्षर, संख्या, डट र अन्डरस्कोर प्रयोग गर्न सकिन्छ । प्रयोगकर्ताले चाहेको बेला युजरनेम परिवर्तन वा हटाउन पनि सक्नेछन् ।
व्यवसाय तथा क्रिएटरहरूले भने आफ्ना मेटा प्लेटफर्म अन्तर्गतका प्लेटफर्महरु जस्तै इन्स्टाग्राम र फेसबुकमा प्रयोग हुने एउटै युजरनेम सुरक्षित गर्न सक्ने सुविधा पनि पाउनेछन् । यो सुविधा चरणबद्ध रूपमा विस्तार गरिने र उपलब्ध भएपछि प्रयोगकर्तालाई इन–एप सूचना पठाइने कम्पनीले जनाएको छ । एएनआई








प्रतिक्रिया