१८ असार २०८३, बिहिबार

घानाका चर्चित ‘ब्ल्याक म्याजिसियन’ बोन्सामको भविष्यवाणी फेल खायो

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । घानाका स्वघोषित ‘ब्ल्याक म्याजिसियन’ नाना क्वाकु बोन्सामले २०२६ फिफा विश्वकपलाई लिएर गरेका पछिल्ला केही दाबीमध्ये एउटा महत्वपूर्ण भविष्यवाणी गलत सावित भएको छ। जापानले ब्राजिललाई अन्तिम ३२ बाटै बाहिर निकाल्ने उनको दाबी विपरीत ब्राजिलले रोमाञ्चक जित निकाल्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो।

बोन्सामले खेलअघि एन्ड्रिकलाई सुरुआती टोलीमा उतारे मात्रै ब्राजिल बच्न सक्ने बताएका थिए। तर प्रशिक्षक कार्लो एन्सेलोट्टीले एन्ड्रिकलाई दोस्रो हाफमा मैदान पठाए पनि ब्राजिलले पुनरागमन गर्दै जापानलाई पराजित गर्‍यो।

विश्वकपभर आफ्ना आध्यात्मिक शक्तिका दाबी गर्दै आएका बोन्सामले अहिले भने अर्को सनसनीपूर्ण भविष्यवाणी गरेका छन्। उनले अर्जेन्टिनाविरुद्ध हुने खेलअघि लियोनेल मेस्सीसहित अर्जेन्टिनी टोलीलाई आफूले ‘जादु’मार्फत प्रभाव पार्ने र कोप भर्डेलाई जिताउने दाबी गरेका छन्।

यस्तै, यसपटकको विश्वकप पोर्चुगल र क्रिस्टियानो रोनाल्डोकै हुने उनको अर्को दाबी पनि चर्चामा छ। यसअघि इंग्ल्यान्ड–घाना खेलअघि कप्तान ह्यारी केनलाई आफूले ‘श्राप’ दिएको र त्यसकै कारण उनले गोल गर्न नसकेको बोन्सामले सार्वजनिक रूपमा बताएका थिए। खेलपछि उनले उक्त ‘श्राप’ हटाएको दाबी पनि गरेका थिए।

नाना क्वाकु बोन्साम सन् २०१४ को विश्वकपताका क्रिस्टियानो रोनाल्डोलाई आध्यात्मिक रूपमा चोट पुर्‍याएको दाबी गरेपछि अन्तर्राष्ट्रिय रूपमा चर्चामा आएका थिए। यद्यपि, उनका यस्ता दाबीको समर्थन गर्ने कुनै वैज्ञानिक प्रमाण भने अहिलेसम्म सार्वजनिक भएको छैन।