१९ असार २०८३, शुक्रबार

देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । देशभर पर्याप्त वर्षा नहुँदा किसानले रोपाइँका बेला सिँचाइ अभावको समस्या झेलिरहेका बेला नेपालमा सिँचाइ विस्तारको लक्ष्य पनि अझै पूरा हुन सकेको छैन ।

खेतीयोग्य जमिनको ठूलो हिस्सा अझै आकाशे पानीमै निर्भर रहँदा कृषकहरू उत्पादन जोखिमसँग जुध्न बाध्यभएका छन् । सिँचाइ तथा जलस्रोत विभागका अनुसार हालसम्म देशको आवश्यक सिँचाइ क्षेत्रमध्ये ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा विस्तार गरिएको छ ।

विभागको तथ्याङ्कअनुसार नेपालमा कूल ३५ लाख ५७ हजार ७६४ हेक्टर खेतीयोग्य जमिन रहेको छ । तीमध्ये २५ लाख ३६ हजार ३१९ हेक्टर जमिनमा नियमित सिँचाइ आवश्यक पर्ने भए पनि हालसम्म १५ लाख ९० हजार ३८८ हेक्टर क्षेत्रमा मात्रै सिँचाइ सुविधा पुगेको छ । यो वर्ष समयमै पर्याप्त वर्षा नहुँदा धेरै जिल्लाका किसानले रोपाइँका लागि पानीको अभाव झेलिरहेका छन् । कतिपय ठाउँमा रोपाइँका लागि राखिएको धानको बीउ नै सुक्न थालेको छ भने धेरै किसान आकाशे पानीको प्रतीक्षामा छन् ।

यस्तो अवस्थाले धान उत्पादनमा असर पर्ने चिन्ता बढेको छ । सिँचाइ तथा जलस्रोत विभागका सूचना अधिकारी रामप्रसाद पौडेलका अनुसार गत आव २०८१/८२ मा विभागले १६ हजार ३०८ हेक्टर जमिनमा थप सिँचाइ सुविधा विस्तार गर्ने लक्ष्यसहित विभिन्न आयोजना सञ्चालन गरेको थियो ।

यस्तै, चालु आर्थिक वर्ष २०८२/८३ मा छ हजार ७५० हेक्टर क्षेत्रमा नयाँ सिँचाइ सुविधा विस्तार गर्ने लक्ष्य राखिएको छ तर चालु आवको चैत मसान्तसम्म केवल चार हजार ४८ हेक्टर जमिनमा मात्र सिँचाइ सुविधा विस्तार गर्न सफल भएको विभागले जनाएको छ ।

कृषि उत्पादन वृद्धि, खाद्य सुरक्षा र जलवायु परिवर्तनबाट उत्पन्न चुनौती सामना गर्न दीर्घकालीन तथा भरपर्दो सिँचाइ पूर्वाधारको विकास आवश्यक रहेको सिँचाइ तथा जलस्रोत विभागको भनाइ छ ।

सरकारले सिँचाइ विस्तारलाई प्राथमिकतामा राख्दै विभिन्न आयोजना अघि बढाइरहे पनि लक्ष्यअनुसार काम सम्पन्न हुन नसक्दा किसान अझै वर्षाको भर पर्नुपर्ने अवस्था कायम छ ।

विशेषगरी धान उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने सरकारी लक्ष्य सफल बनाउन समयमै सिँचाइ पूर्वाधार विस्तार र प्रभावकारी कार्यान्वयन अपरिहार्य देखिएको छ ।