१० श्रावण २०८३, आइतबार

चलचित्र ‘जलाकी’को प्रदर्शन मिति तय

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चलचित्र ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापामगरको दोस्रो निर्देशकीय सिनेमा ‘जलाकी’ आगामी मंसिर ४ गते देशभर प्रदर्शन हुने भएको छ । असार १५ अर्थात् दहीचिउरा खाने दिनको शुभ अवसरमा निर्माण टिमले मंसिर ४ लाई प्रदर्शन मिति घोषणा गर्दै सिनेमाको दुई पोस्टर सार्वजनिक गरेको हो ।

सार्वजनिक पोस्टरमा सिनेमाका मुख्य कलाकार सोनम तोप्देन र उपासना सिंह ठकुरीलाई प्रस्तुत गरिएको छ । दुवै पोस्टरले सिनेमाको प्रेमकथालाई फरक–फरक भाव र मनोविज्ञानबाट प्रस्तुत गरेको छ । सार्वजनिक यी दुई पोस्टर ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले तयार पारेका हुन् ।

पहिलो पोस्टरमा सोनम र उपासना रोमान्टिक र खुसीको क्षणमा प्रस्तुत भएका छन् । एकअर्काप्रतिको आत्मीयता, प्रेम र विश्वासलाई केन्द्रमा राखिएको यो पोस्टरले सिनेमाको प्रेम पक्षलाई चित्रण गरेको छ ।

त्यसैगरी, दोस्रो पोस्टरमा उनीहरू गम्भीर तथा भावुक मुद्रामा देखिएका छन् । पोस्टरमा दुवै पात्रबीचको मौनता, पीडा र भावनात्मक संघर्ष झल्किएको छ, यसले सिनेमाको कथामा आउने उतारचढावको संकेत गर्छ ।

‘जलाकी’ मगर समुदायमा आस्था, सम्झना र मायाको प्रतीकका रूपमा चिनिने ढुङ्गाले बनाइएको स्तम्भलाई जनाउने शब्द हो । निर्देशक मगरले यही सांस्कृतिक प्रतीकलाई केन्द्रमा राखेर मगर र गुरुङ समुदायको संस्कृति, परम्परा र भावना समेटिएको कथा सिनेमामा प्रस्तुत गरिएको बताए ।

एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमामा सोनम र उपासनासहित शिल्पा मास्के, माओत्से गरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्कबहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर, दुईसाङ थिन र विशेष भूमिकामा क्याप्टेन विजय लामा तथा बालकलाकारमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा, रिन्सी धनहा मगरले अभिनय गरेका छन् । यो सिनेमाबाट मिस सिक्किमकी साहारा हाङमा लिम्बूले नेपाली रजतपटमा डेब्यु गरेकी छन् ।

निर्देशक अशोकको डेब्यु निर्देशकीय सिनेमा ‘खुस्मा’बाट अभिनेत्री उपसना सिंह ठकुरीले उत्कृष्ट अभिनेत्रीको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ उचालेकी थिइन् । सोही निर्देशक थापा मगरले यसपटक पनि उपासनालाई मुख्य भूमिकामा लिएका छन् । यसले पनि दर्शकको लागि ‘जलाकी’ अपेक्षाकृत बन्ने अनुमान गर्न सकिन्छ ।

सिनेमाका निर्मातामा ओम घर्ति मगर, बीर बहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर (बबिता राना), मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् । सिनेमामा शैलेन्द्र डी कार्कीको छायांकन तथा एसडी योगी, सरित राईको संगीत र सुरेन्द्र राना, राम अविरल विष्टको गीत रचना र एसडी योगी, अन्जु पन्त, मेलिना राई, रेश्मी पुन मगर, गीतान्जली थापा मगरको स्वर छ । यसअघि निर्देशक थापा मगरको डेब्यु सिनेमा ‘खुस्मा’ व्यावसायिक रूपमा सफल भएको थियो । त्यस सिनेमामा समावेश ‘रुकुम मैकोट’ बोलको गीतले पनि सामाजिक सञ्जाल टिकटक, फेसबुक रिल्स र युट्युबमा व्यापक लोकप्रियता कमाएको थियो ।