-कृष्ण पौडेल
कपिलवस्तु । आमा तथा शिशुको स्वास्थ्य, सुरक्षा, सम्मान र सुविधालाई केन्द्रमा राख्दै कपिलवस्तुको शिवराज नगरपालिकाले नेपालमै पहिलोपटक घुम्ती स्तनपान कक्ष सञ्चालनमा ल्याएको छ।
सार्वजनिक स्थलमा स्तनपान गराउनुपर्ने आमाहरूका लागि सुरक्षित, गोपनीय र सहज वातावरण सुनिश्चित गर्ने उद्देश्यसहित सुरु गरिएको यो सेवा स्थानीय सरकारको नवीन तथा मातृ–शिशुमैत्री पहलका रूपमा हेरिएको छ।
नगरपालिकाले सञ्चालनमा ल्याएको घुम्ती स्तनपान कक्षमा एकैपटक चारदेखि पाँच जना आमाले आफ्ना शिशुलाई आरामदायी वातावरणमा स्तनपान गराउन सक्ने व्यवस्था गरिएको छ। कक्षभित्र वातानुकूलित (एसी) सुविधा, पर्याप्त प्रकाश, आरामदायी बस्ने स्थान तथा आमा र शिशुको आवश्यकतालाई ध्यानमा राखेर आवश्यक पूर्वाधारको व्यवस्था गरिएको हो।
सार्वजनिक कार्यक्रम, मेला, महोत्सव, स्वास्थ्य शिविर, सभा समारोह तथा भीडभाड हुने स्थानमा साना शिशुसहित पुग्ने आमाहरूले स्तनपान गराउन उपयुक्त स्थानको अभाव झेल्दै आएको अवस्थालाई मध्यनजर गर्दै नगरपालिकाले यो सेवा सञ्चालनमा ल्याएको जनाएको छ। यसबाट आमाहरूले सार्वजनिक स्थलमै सम्मानजनक, सुरक्षित र गोपनीय वातावरणमा आफ्ना शिशुलाई स्तनपान गराउन सक्ने विश्वास लिइएको छ।
शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले मातृ तथा शिशुको स्वास्थ्य संरक्षणसँगै महिलाको सम्मान र अधिकारलाई व्यवहारमै कार्यान्वयन गर्ने उद्देश्यले यो सेवा सुरु गरिएको बताए।
‘आमा र शिशुको स्वास्थ्य, सुरक्षा र सम्मान हाम्रो पहिलो प्राथमिकता हो। कुनै पनि आमाले सार्वजनिक स्थानमा असहज महसुस गर्दै शिशुलाई स्तनपान गराउनुपर्ने अवस्था आउनु हुँदैन भन्ने हाम्रो मान्यता हो। त्यसैले सुरक्षित, गोपनीय र सहज वातावरण उपलब्ध गराउने उद्देश्यले नेपालमै पहिलोपटक घुम्ती स्तनपान कक्ष सञ्चालनमा ल्याइएको हो’, उनले भने ।
नगरपालिकाका अनुसार घुम्ती स्तनपान कक्ष सार्वजनिक कार्यक्रम, धार्मिक मेला, महोत्सव, स्वास्थ्य शिविर, जनचेतनामूलक अभियान तथा भीडभाड हुने अन्य स्थानमा आवश्यकताअनुसार परिचालन गरिनेछ। विशेषगरी साना शिशुसहित यात्रा गर्ने तथा सार्वजनिक कार्यक्रममा सहभागी हुने आमाहरू यस सेवाबाट प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ।








प्रतिक्रिया