१९ असार २०८३, शुक्रबार

मलाई मृत्युको कुनै डर छैन, यसै वर्षको अन्त्यसम्ममा स्वदेश फर्कनेछु : शेख हसिना

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सन् २०२४ मा सत्ताबाट हटाइएपछि भारतमा बस्दै आएकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले यसै वर्षको अन्त्यसम्ममा बंगलादेश फर्कने बताएकी छन् ।

भारतीय सञ्चारमाध्यम एनडीटीभीलाई दिएको अन्तर्वार्तामा उनले यस वर्षको अन्त्यसम्ममा बंगलादेश फर्कने बताएकी हुन् ।

हसिनाले आफूलाई मृत्युको कुनै डर नभएको उल्लेख गरेकी छन् ।

हसिनाको यो बयान ढाकाको राजनीतिक वृत्तमा उनको प्रतिबन्धित पार्टी अवामी लिग ग्रामीण र शहरी दुवै क्षेत्रमा सक्रिय बनेको बेला आएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अवामी लिगलाई केवल एउटा संगठनको रूपमा नभई एउटा शक्तिको रूपमा वर्णन गर्दै हसिनाले अल्पसंख्यकहरूमाथि हुने कुनै पनि आक्रमण बंगलादेशको स्वतन्त्रतामाथिको आक्रमण भएको बताइन् ।

उनले आफ्नो स्वदेश फिर्ता व्यक्तिगत महत्वाकांक्षाको विषय नभएको र यो लोकतन्त्रको पुनर्स्थापना लागि हुने बताइन् । ‘यो धेरै ठूलो मुद्दासँग जोडिएको छ, बंगलादेशका जनताको राजनीतिक अधिकार, लोकतन्त्रको पुनर्स्थापना, कानूनको शासन, र हाम्रो मुक्ति युद्धको भावनाको संरक्षण ।’ हसिनाले भनेकी छन् ।

हसिनाले यसै वर्ष आफ्नो देश फर्कने घोषणा गरेपछि सत्तारुढ बीएनपी र विपक्षी दलले उनलाई मानवताविरुद्धको अपराधसँग सम्बन्धित मुद्दाहरूमा दिइएको मृत्युदण्डको सजायको स्मरण समेत गराएका छन् ।

हसिनाले भनिन्, ‘मलाई मृत्युको कुनै डर छैन । मैले १९७५ मा मेरा आमाबाबु, मेरा भाइहरू र लगभग मेरो सम्पूर्ण परिवार गुमाएँकी थिएँ । मलाई ग्रेनेडले मार्ने प्रयास पनि गरियो । मेरोविरुद्ध धेरै षड्यन्त्रहरू रचिए । तैपनि, षड्यन्त्रको हरेक जालो तोड्दै म बंगलादेशका जनताको साथमा छु ।’

हसिनाले आफ्नोविरुद्ध सुनाइएको मृत्युदण्डलाई गैरकानूनी र असंवैधानिक भनेकी छन् ।

हसिनाले तारिक रहमानको नेतृत्वमा रहेको वर्तमान बीएनपी सरकार र मुहम्मद युनुसको नेतृत्वमा रहेको अघिल्लो अन्तरिम सरकारमाथि टिप्पणी गरिन् । उनले भनिन्, ‘त्यहाँ लोकतन्त्र छैन, कानूनको शासन छैन र सुरक्षा छैन । अर्थतन्त्र कमजोर भएको छ । अल्पसंख्यकहरूमाथि आक्रमण भइरहेको छ र अतिवाद द्रुत गतिमा फैलिरहेको छ ।’