१९ असार २०८३, शुक्रबार

भेनेजुएला भूकम्प : राहत र उद्धारको कार्य जारी, मृत्यु हुनेको संख्या १४ सय नाघ्यो

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भेनेजुएलामा दुई शक्तिशाली भूकम्प गएको चार दिन बितिसक्दा पनि राहत र उद्धार कार्य जारी छ । भग्नावशेषमा फसेका मानिसहरूलाई जीवितै निकाल्न स्वदेशी तथा विदेशी उद्धार टोलीहरू दिनरात खटिरहेका छन् ।

भेनेजुएला सरकारका अनुसार आइतबार दिउँसोसम्म १ हजार ४५० जनाको मृत्यु भइसकेको छ भने अझै हजारौं बेपत्ता छन् । मृत्यु हुनेको संख्या बढ्ने अनुमान गरिएको छ ।

सरकारले भूकम्पबाट सबैभन्दा बढी प्रभावित ला गुएरा राज्यमा १४ हजारभन्दा बढी सैन्य र प्रहरी कर्मचारीहरू उद्धारमा खटाइएको जनाएको छ ।

सरकारका अनुसार भूकम्पका कारण ७७० भन्दा बढी भवनहरू पूर्ण वा आंशिक रूपमा भत्किएका छन् । यो संख्या शुक्रबार जारी गरिएको तथ्याङ्कको झन्डै दोब्बर हो ।

तीव्र गर्मी र शवहरू कुहिने भएकाले यस क्षेत्रमा दुर्गन्ध फैलिन थालेको छ । उचित सुरक्षा उपकरणको अभावमा धेरै स्वयंसेवकहरूले मोटरसाइकल हेलमेट लगाएर भग्नावशेषमा मानिसहरूलाई खोजिरहेका छन् ।

संयुक्त राष्ट्रसंघका अनुसार शनिबारसम्म विश्वका विभिन्न देशहरूबाट २,२०० भन्दा बढी उद्धारकर्मीहरू भेनेजुएला पुगिसकेका छन् भने अन्य टोलीहरू पनि आउने क्रम जारी छ । अमेरिका, फ्रान्स, मेक्सिको, ब्राजिल र एल साल्भाडोर लगायत धेरै देशहरूले राहत र उद्धार कार्यका लागि सहयोग पठाएका छन् ।

यसैबीच, आइतबार अमेरिका र फ्रान्सका उद्धारकर्मीहरूले एक जना पुरुष र उनको छोरालाई भग्नावशेषबाट सुरक्षित रूपमा बाहिर निकालेका छन् । उनीहरुलाई तुरुन्तै एम्बुलेन्समा राखेर उपचारका अस्पताल पठाइएको थियो ।