२३ असार २०८३, मंगलबार

फिल्म ‘पार्वती’को गीत ‘नौतुना रेलैमा’मा आकर्षक टिकटक बनाउनेलाई ५० हजार

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नीता फिल्म्सको प्रस्तुतीमा निर्माण भएको चलचित्र ‘पार्वती’ले आफ्नो चर्चित गीत ‘नौतुना रेलैमा’मा टिकटक भिडियो बनाउने दर्शकहरूका लागि पुरस्कार राशिसहितको विशेष प्रतियोगिताको घोषणा गरेको छ ।

प्रतियोगितामा सहभागी हुनेहरूले ‘नौतुना रेलैमा’ गीतमा सिर्जनात्मक भिडियो बनाएर टिकटकमा पोस्ट गर्नुपर्नेछ ।

प्रतियोगितामा उत्कृष्ट भिडियो बनाउने तीन जना विजेतालाई आकर्षक नगद पुरस्कार प्रदान गरिने जनाइएको छ । जसअनुसार प्रथम पुरस्कार ५०,००० रुपैयाँ, दोस्रो पुरस्कार ३०,००० रुपैयाँ र तेस्रो पुरस्कार २०,००० रुपैयाँ रहेको छ । साथै, ५ जना सहभागीलाई चलचित्रको निःशुल्क टिकट समेत प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुन भिडियो पोस्ट गर्दा क्याप्सनमा ह्यासट्याग ‘पार्वती’, ह्यासट्याग ‘भाद्र १२’, ह्यासट्याग ‘नौतुना रेलै’मा अनिवार्य रुपमा प्रयोग गरेको हुनुपर्ने छ । उत्कृष्ट भिडियो र प्राप्त भ्युजका आधारमा विजेता छनोट गरिने जानकारी दिइएको छ ।

सार्वजनिक गरिएको गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू नीता ढुङ्गाना, दीपाश्री निरौला, अञ्जली अधिकारी, सिरु विष्ट, बसुन्धरा भुसाल, आशा पौडेल, अशोक दर्जी तथा क्रिमसन श्रेष्ठले नृत्य गरेका छन् । विवाहको समयमा महिलाहरूले खेल्ने रत्यौलीलाई भिडियोमा रमाइलो पारामा प्रस्तुत गरिएको छ । भिडियोमा दीपाश्री पुरुषको भेषभूषामा देखिएकी छन् भने नीता महिलाकै पहिरनमा छिन् । उनीहरूबीचको रमाइलो भिडियोमा हेर्न सकिन्छ ।

अभिनेत्री ढुङ्गानाकै कथा तथा निर्देशनमा बनेको यस फिल्मको मुख्य भूमिकामा निर्देशक ढुङ्गाना स्वयं रहेकी छन् । नीताका साथमा फिल्ममा दीपाश्री निरौला, अशोक दर्जी, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल लगायतको मुख्य अभिनय रहेको छ ।

निर्देशक ढुङ्गानाकै कथा तथा पटकथा रहेको यस फिल्मको स्क्रिप्ट भने शिवम् अधिकारीले लेखेका हुन् । सुदीप बरालको डीओपी रहेको यस फिल्मको नृत्य निर्देशन रामजी लामिछानेको छ ।

फिल्मको प्रोडक्सन म्यानेजर र कार्यकारी निर्माता शंकर पाण्डे हुन् भने निर्मातामा हरिहर अधिकारी रहेका छन् । फिल्मको सम्पादन तथा टिजररट्रेलर साहिल खानले तयार पार्नेछन् ।

रोयल भीमसेनले पोस्टर डिजाइन गरेको यस फिल्मको वितरणको जिम्मा एफडी कम्पनी, एप्पल इन्टरटेनमेन्ट र रिच इन्टरटेनमेन्टले लिएका छन् । साथै, फिल्मको डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ ।

फिल्म ‘पार्वती’ आगामी भदौ १२ गते देशभर प्रदर्शनमा आउने तयारीमा रहेको छ ।