२१ असार २०८३, आइतबार

कम्युनिष्ट सकाउन भदौ २४ को चुनाव भयो, छिटो वामपन्थी एक नभए भयानक दुर्घटना हुन्छ : प्रचण्ड

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट सिध्याउने प्रयास भइरहेको बताएका छन् ।

जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कम्युनिष्टबीच तत्कालै सहकार्य हुनुपर्ने नभए भयानक दुर्घटना हुने बताएका हुन् ।

उनले भने, ‘नेपालमा कम्युनिष्ट आन्दोलनलाई के गरी सिध्याउने भन्ने प्रयास भइरहेको छ । भारतमा कम्युनिष्ट सिध्याइयो भनेर घोषणा गरेको सुनेका छौँ । नेपालमा पनि के गरी सिध्याउन सकिन्छ भनेर प्रतिक्रियावादी लागिरहेका छन् । यही षडयन्त्रको परिणतिका रुपमा भदौ २४ भयो, चुनाव भयो, अहिले जे भइरहेको छ हामीले देखेका छौ । त्यसैले यसलाई रोक्न राष्ट्रिय स्वाधीनताका पक्षमा, निरंशुकताका विरुद्ध, फासिज्मका विरुद्ध, वैदेशिक दबाबका विरुद्ध छिटोभन्दा छिटो वामपन्थी र देशभक्त एक हुनुपर्छ । ढिला गर्नुहुँदैन । नत्र भयानक दुर्घटना हुन्छ ।’

उनले बिना समीक्षा हतारमा पार्टी एकता गर्ने र फुर्सदमा फेरि विभाजन भएर रोयर बस्ने अवस्था नआओस् भन्नेमा भने सतर्क रहनुपर्ने बताए।

‘हामी आफैंले आत्मसमीक्षा गर्ने कुरालाई प्राथमिकता दिनुपर्छ,’ उनले भने, ‘राष्ट्रियतामा आएको चुनौतीको सामना गर्न हामी मिलेर मात्रै सफलता प्राप्त गर्न सकिन्छ। यसमा ढिला नगरियोस्। सबैले आआफ्नो ठाउँबाट भूमिका खेल्नुपर्छ।’