काठमाडौं । बेल्जियमका अनुभवी फरवार्ड रोमेलु लुकाकु फिफा विश्वकप इतिहासमा बेल्जियमबाट सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।
क्यानडाको भ्यानकुभरमा शनिबार सम्पन्न फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’को खेलमा बेल्जियमले न्युजिल्यान्डलाई ५–१ ले पराजित गर्ने क्रममा लुकाकुले आफ्नो विश्वकप करियरको छैटौं गोल गर्दै नयाँ कीर्तिमान कायम गरेका हुन् ।
३३ वर्षीय लुकाकुले खेलको ८६ औं मिनेटमा गोल गर्दै बेल्जियमका लागि विश्वकपमा पाँच गोल गरेका मार्क विल्मोट्सको कीर्तिमान तोडे । यससँगै लुकाकु विश्वकप इतिहासमा बेल्जियमका सबैभन्दा धेरै गोल गर्ने खेलाडी बने ।
बेल्जियमको जितमा लियोनार्द ट्रोसार्डले दुई गोल गरे । खेलको २८ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका ट्रोसार्डले दोस्रो हाफको सुरुआतमै आकर्षक गोल थप्दै व्यक्तिगत दोस्रो गोल पूरा गरेका थिए । त्यसपछि केभिन डि ब्रयुनले बक्सबाहिरबाट उत्कृष्ट प्रहार गर्दै बेल्जियमको अग्रता ३–० पुर्याए ।
न्युजिल्यान्डका लागि एलिजले एक गोल फर्काए पनि त्यसपछि लुकाकुले हेडमार्फत गोल गर्दै टोलीको अग्रता अझ फराकिलो बनाए । खेलको अन्तिम क्षणमा लुकाकुकै पासमा एलेक्ससीस ले गोल गर्दै बेल्जियमको ५–१ को शानदार जित सुनिश्चित गरे । यस जितसँगै बेल्जियम समूह ‘जी’को शीर्ष स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरेको छ । एएनआई








प्रतिक्रिया