काठमाडौं । सामाजिक सञ्जालमा प्र्याङ्क भिडिओको आवरणमा जातीय तथा साम्प्रदायिक सद्भावमा असर पर्ने सामग्री प्रसारण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार पक्राउ पर्नेमा बाँफिकोट गाउँपालिका–३ का ३१ वर्षीय राजन केसी, सोही ठाउँका २८ वर्षीय डिल्लीबहादुर वली तथा कपिलवस्तुको कृष्णनगर नगरपालिका–४ स्थायी घर भई हाल रुकुम पश्चिमको मुसिकोट क्षेत्रमा बेकरी व्यवसाय सञ्चालन गर्दै आएका ३१ वर्षीय रघुवीर कोरी रहेका छन्।
ुजीवन ओलीु नामक युट्युब च्यानलमार्फत गत जुन २४ मा सार्वजनिक गरिएको भिडियोमा मधेशी मूलका व्यक्तिलाई लक्षित गरी दुर्व्यवहार गरिएको दृश्य देखिएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो। त्यसपछि गृहमन्त्री सुधन गुरुङले घटनाको छानबिन गरी संलग्नमाथि कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन दिएका थिए।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा उक्त दृश्य वास्तविक घटना नभई सामाजिक सञ्जालमा भाइरल हुने उद्देश्यले आपसी सहमतिमा तयार पारिएको सामग्री रहेको खुलेको छ। यद्यपि भिडियोमा प्रयोग गरिएको प्रस्तुति र अभिव्यक्तिले जातीय तथा साम्प्रदायिक सद्भावमा नकारात्मक प्रभाव पार्ने र निश्चित समुदायप्रति द्वेष फैलाउने प्रकृतिको देखिएकाले उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
हाल तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीहरूलाई कानुनी प्रक्रिया अघि बढाउन जिल्ला अदालतबाट म्याद थपको अनुमति लिने तयारी गरिएको छ।















प्रतिक्रिया