२४ असार २०८३, बुधबार

हिजो विजयी, आज नामै गायब !

7.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य निर्वाचनको अन्तिम नतिजाप्रति कर्णाली प्रदेशकी उम्मेदवार गोमा थापाले गम्भीर असन्तुष्टि व्यक्त गरेकी छन्।

थापाले प्रारम्भिक मतपरिणाममा आफू निर्वाचित भएको भन्दै बधाइसमेत आएको तर अन्तिम नतिजा सार्वजनिक हुँदा आफ्नो स्थानमा अर्कै उम्मेदवारको नाम राखिएको बताएकी हुन्।

बिहीबार कर्णाली प्रदेश भूगोलबाट केन्द्रीय सदस्यमा उठेकामध्ये सर्वाधिक मत ल्याएका भन्दै ५ जनाको नामावली सार्वजनिक भयो। रास्वपा केन्द्रीय सदस्य पदका लागि २ महिला र ३ खुला गरी कर्णाली प्रदेशले पाएको कोटा यति नै थियो। यस हिसाबले कर्णाली प्रदेशका पाँचै कोटामा महिला मात्र निर्वाचित भएको ठानियो।

त्यसबेला सार्वजनिक मतपरिणाममा सीता वादीले सबैभन्दा बढी १ हजार ७५१, बिनिता कठायतले १ हजार ५००, हुम्लाकी टासी ल्हजोमले १ हजार १३५ मत प्राप्त गरेको उल्लेख थियो। यस्तै सर्वाधिक मत ल्याउने अन्य २ जनामा दैलेखकी मेनुका शाहीले ७९८ र सुर्खेतकी गोमा थापाले ६१६ मत ल्याएका थिए।

त्यसैले उनीहरूसँगै गोमालाई पनि रास्वपाको केन्द्रीय सदस्यमा विजयी भएको भन्दै साथी-शुभेच्छुकबाट बधाई आयो। तर आज भने उनको नामनै भेटिएन ।

उनले भनिन्, ‘हिजो मेरो मत बढी थियो। आज प्रवासको मत पनि जोडेर अरूलाई निर्वाचित घोषणा गरिएको छ।’

थापाका अनुसार आफूले प्रवासतर्फबाट प्राप्त गरेको मतको विवरण अहिलेसम्म सार्वजनिक गरिएको छैन। ‘मलाई प्रवासबाट प्राप्त मत अहिलेसम्म निर्वाचन आयोगले सार्वजनिक गरेको छैन। मेरो कति मत छ, हेर्नसमेत पाएकी छैन,’ उनले गुनासो गरिन्।

रातारात नतिजा फेरबदल गरिएको आरोप लगाउँदै उनले आफ्नो मत विवरणबारे निर्वाचन आयोगसँग जानकारी माग्दा पनि स्पष्ट जवाफ नपाएको बताएकी छन्।

यता, रास्वपाको निर्वाचन आयोगले भने प्रवासतर्फको मतसमेत समावेश गरी अन्तिम परिणाम सार्वजनिक गरेको जनाएको छ। सो परिणामअनुसार कर्णाली प्रदेशबाट केन्द्रीय सदस्यमा सीता वादी, बिनिता कठायत, टासी ल्याङ्जोम, मेनुका शाही र प्रकाश न्यौपाने निर्वाचित भएका छन्।