काठमाडौं । टाइम्स हायर एजुकेसनद्वारा आयोजित ग्लोबल सस्टेनेबल डेभलपमेन्ट कंग्रेस २०२६ का क्रममा जकार्तामा ग्लोकल प्रालि र टाइम्स हायर एजुकेसनबीच रणनीतिक सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । यो सहकार्य नेपालको उच्च शिक्षा क्षेत्रको गुणस्तर, अन्तर्राष्ट्रिय पहुँच र विश्वव्यापी सहभागिता अभिवृद्धि गर्ने महत्वपूर्ण कदमका रूपमा हेरिएको ग्लोकलले जनाएको छ ।
समझदारीपत्रमा ग्लोकल प्रालिका अध्यक्ष आशिष ठाकुर तथा टाइम्स हायर एजुकेसनका एशिया–प्रशान्त क्षेत्रका अध्यक्ष मेई मेई लिमले हस्ताक्षर गरेका हुन् ।
संस्थाका अनुसार यस सहकार्यमार्फत टाइम्स हायर एजुकेसनको उच्च शिक्षासम्बन्धी विश्वव्यापी अनुभव र ग्लोकलको शिक्षा, युवा तथा सीप विकास क्षेत्रमा रहेको अनुभवलाई एकीकृत गर्दै नेपाल तथा दक्षिण एशियाको उच्च शिक्षा क्षेत्रमा सकारात्मक योगदान पुर्याइने बताइएको छ ।
संस्थाका अनुसार नेपालका विश्वविद्यालय र सम्बन्धित सरकारी निकायहरूको शैक्षिक गुणस्तर सुधार, अन्तर्राष्ट्रिय पहिचान, प्रभाव मूल्याङ्कन तथा रणनीतिक विकासका क्षेत्रमा सहकार्य गरिनेछ । साथै, विश्वस्तरीय अभ्यास, तथ्याङ्कमा आधारित निर्णय प्रक्रिया र संस्थागत सुधारका लागि आवश्यक सहयोग उपलब्ध गराइनेछ ।
सहकार्यमार्फत नेपाललाई अन्तर्राष्ट्रिय शिक्षा गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित ‘स्टडी इन नेपाल’ अभियानलाई विश्वस्तरमा प्रवर्द्धन गर्ने सम्भावनाहरू खोजिनेछन् ।
यस पहलमार्फत नेपालका विश्वविद्यालयहरूको शैक्षिक क्षमता, अनुसन्धानका अवसर तथा उत्कृष्ट अभ्यासलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गरिनेछ । साथै, नेपाललाई दक्षिण एशियामा गुणस्तरीय शिक्षा, अनुसन्धान तथा अन्तरदेशीय शैक्षिक सहकार्यको उदीयमान केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
दुवै संस्थाले विश्वविद्यालय, सरकार, उद्योग तथा विकास साझेदारहरूसँग मिलेर उच्च शिक्षा प्रणाली सुदृढीकरण, सीप विकास, रोजगारीयोग्यता अभिवृद्धि, संस्थागत रूपान्तरण तथा नीतिगत सुधारका क्षेत्रमा सहकार्य अघि बढाउनेछन् । साथै, नेपालमा शैक्षिक, संस्थागत, सरकारी तथा कर्पोरेट परामर्शसम्बन्धी सम्भावित परियोजनाहरूको पहिचान र कार्यान्वयनका अवसरहरू पनि संयुक्त रूपमा खोजिने बताइएको छ ।
समझदारीपत्रमा हस्ताक्षरपछि ग्लोकल प्रालिका अध्यक्ष ठाकुरले भने, “नेपालको उच्च शिक्षा क्षेत्र परिवर्तनको महत्वपूर्ण चरणमा छ । दिगो प्रगतिका लागि अन्तर्राष्ट्रिय सहकार्य, विश्वस्तरीय ज्ञान र स्थानीय आवश्यकतालाई विश्वव्यापी अवसरसँग जोड्न आवश्यक छ । टाइम्स हायर एजुकेसनसँगको यस सहकार्यले नेपाली विश्वविद्यालयहरूको क्षमता अभिवृद्धि, ‘स्टडी इन नेपाल’ अभियानको प्रवद्र्धन तथा नवप्रवर्तन र अन्तर्राष्ट्रिय सहभागिताका नयाँ अवसर सिर्जना गर्न मद्दत गर्नेछ ।” उनले नेपालसँग गुणस्तरीय शिक्षा, युवा जनशक्ति, अनुसन्धान र क्षेत्रीय नेतृत्वका क्षेत्रमा ठूलो सम्भावना रहेको उल्लेख गर्दै यस सहकार्यले नेपाललाई अन्तर्राष्ट्रिय शिक्षा तथा ज्ञान केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
टाइम्स हायर एजुकेसनका एशिया–प्रशान्त क्षेत्रका अध्यक्ष लिमले नेपाल उच्च शिक्षा विकासका लागि ठूलो सम्भावना भएको देश रहेको बताउँदै विश्वविद्यालय, सरकार र अन्य सरोकारवालाबीचको सहकार्यलाई थप मजबुत बनाउन आफ्नो संस्था प्रतिबद्ध रहेको बताए । उनले भने, “हामी ग्लोकलसँग सहकार्य गर्दै नेपालका विश्वविद्यालयहरूको अन्तर्राष्ट्रिय दृश्यता, क्षमता विकास, प्रभाव मापन तथा विश्वव्यापी सहभागिता अभिवृद्धिका अवसरहरू विस्तार गर्न उत्साहित छौँ ।”
उनले विश्वविद्यालय, सरकार, उद्योग र विश्वव्यापी ज्ञान सञ्जालबीच बलियो सहकार्यमार्फत दिगो र प्रभावकारी परिवर्तन सम्भव हुनेमा जोड दिए ।








प्रतिक्रिया