५ श्रावण २०८३, मंगलबार

सरकारी धरपकडविरुद्ध माइतीघरमा दृष्टिविहीनको प्रदर्शन

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंको माइतीघर मण्डलमा दृष्टिविहीन तथा न्यून दृष्टियुक्त व्यक्तिहरूले सरकारविरुद्ध विरोध प्रदर्शन गरेका छन् ।

सडक पेटीमा जीविकोपार्जन गर्दै आएका उनीहरूले विभिन्न सरकारी निकायबाट धरपकड र जबरजस्ती हटाउने प्रयास भएको भन्दै आन्दोलन गरेका हुन् ।

प्रदर्शनका क्रममा सहभागी रोजिता ऐरले सरकारले आफूहरूलाई शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता गर्नुपर्ने माग गरिन् । उनले क्षमता र सीप हुँदाहुँदै पनि बाध्यतावश सडकमा उत्रिनुपरेको बताइन् ।

उनले भनिन्, ‘सरकारले शिक्षा, स्वास्थ्य र रोजगारी हामीलाई दिनुपर्‍यो । हामी यहाँ सडकमा यसरी आउनुपर्ने बाध्यता हो । सरकारले चाँडोभन्दा चाँडो हाम्रो कुरा सुनोस् । सबैजना हामी युवा क्षमता हुँदाहुँदै पनि बाध्यताले सडकमा उत्रिनुपरेको छ । हाम्रो पनि बालबच्चा छन् । सडकमा बसेर नै जीविकोपार्जन गरौँ भन्ने हाम्रो माग होइन । हामीलाई रोजगार चाहिएको छ भनेर ध्यानाकर्षण गराउन आएका हौँ ।’

ऐरले दृष्टिविहीन तथा न्यून दृष्टियुक्त व्यक्तिहरूमाथि राज्य पक्षबाट विभेदपूर्ण व्यवहार हुने गरेको आरोप समेत लगाइन् । ‘सरकारले हामीलाई अन्यायपूर्ण व्यवहार गर्ने, अपशब्द प्रयोग गर्ने, लछापछार गर्ने र दुर्व्यवहार गर्ने काम गरेको छ,’ उनले भनिन् ।

उनीहरूले राज्यले अपांगता भएका व्यक्तिहरूका लागि सम्मानजनक रोजगारी, सामाजिक सुरक्षा तथा मानवअधिकारको प्रत्याभूति गर्नुपर्ने माग गरेका छन् । साथै, सडक पेटीमा जीविकोपार्जन गरिरहेका दृष्टिविहीनहरूमाथि हुने धरपकड तत्काल रोक्न पनि उनीहरूले सरकारसँग आग्रह गरेका छन् ।