२५ असार २०८३, बिहिबार

अवरुद्ध बेनी–जोमसोम सडक १२ घण्टापछि खुल्यो

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेनी । सडकमा थुप्रिएको ढुङ्गा पन्छाएपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा १२ घण्टापछि यातायात सेवा सञ्चालन भएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरमा गए राति विद्युतीय गाडीमाथि ढुङ्गा खसेर च्यापिँदा मुस्ताङस्थित कोरला नाकाबाट विद्युतीय गाडी चलाएर पोखरातर्फ जाँदै गरेका वीरगञ्ज महानगरपालिकाका २३ वर्षीय सोहिल मियाको मृत्यु हुनुका साथै सडक अवरुद्ध बनेको थियो ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले सडक विभागका उपकरण परिचालन गरेर सडकमा थुप्रिएको ढुङ्गा पन्छाएर आज बिहानदेखि सवारी आवतजावत सुचारु भएको जानकारी दिए । रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।

विस्फोटक पदार्थको प्रयोग गरेर फराकिलो बनाउने काम भइरहेको सडकमा गुडिरहेको अवस्थामा ढुङ्गा खसेर अठ्याएको गाडीभित्र एक्लै रहेका मिया च्यापिएका थिए । सुरक्षाकर्मीको टोलीले अचेत अवस्थामा उद्धार गरेर प्रदेश अस्पताल बेनीमा ल्याइएका मियालाई चिकित्सकले राति मृत घोषणा गरेका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले बताए ।