–दानबहादुर बुढा
मुगु । हिमाली जिल्ला अर्थात् रारा जिल्लाले चिनिएको मुगु जिल्लामा रहेको एक नगरपालिका र तीन गाउँपालिकाले असार १० गते एकैदिन बुधबार आगामी आर्थिक वर्षका लागि बजेटसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।
छाँयानाथ रारा नगरपालिका, सोरू गाउँपालिका, खत्याड गाउँपालिका र मुगुम कार्मारोङ गाउँपालिकाले आगामी आर्थिक वर्ष वर्ष २०८३/०८४ का लागि बजेटसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन ।
स्थानीय तह सरकार सञ्चालन ऐन कानुन तथा नियम अनुसार मुगुका चार वटै स्थानीय तहले तोकिएको समयभित्र आफ्नो बजेटसहित नीति तथा कार्यक्रम सार्वजनिक गर्न सफल भएका छन् ।
जिल्लाको एक मात्र छायानाथ रारा नगरपालिकाले आगामी आर्थिक वर्षको लागि ६५ करोड २१ लाख, ४२ हजार २१ रुपैयाँ सार्वजनिक गरेको छ । बुधबार आयोजित १९ औँ नगर सभाले नगरपालिकाको आगामी वर्षको नीति, कार्यक्रमसहित बजेट सार्वजनिक गरेको छ । उक्त कुल बजेट मध्ये चालुतर्फ २६ करोड ८ लाख ५६ हजार र पुँजीगत तर्फ ३९ करोड १२ लाख ८५ हजार सार्वजनिक गरिएको नगर उपप्रमुख ऐश्वर्य शाही मल्लले जानकारी गराइन् ।
सोरू गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि बजेटसहित नीति तथा कार्यक्रम १८ औँ गाउँ सभमा सार्वजनिक गरेको छ । उपप्रमुख केशरबहादुर शाहीका अनुसार आगामी आर्थिक वर्षको लागि ५० करोड ६६ लाख ५८ हजार बजेट प्रस्ताव गरिएको र त्यसमध्ये चालुतर्फ ३१ करोड १२ लाख ३० हजार र पुँजीगततर्फ १९ करोड ५४ लाख २८ हजार रहेको छ ।
सोरू गाउँपालिकाले दो मुख बेलिब्रिज निर्माणको लागि १ करोड, सिरु पाटा सडकको लागि ३१ लाख पर्यटन प्रवद्र्धन तथा खेलकुदको लागि ४६ लाख बजेट विनियोजन गरिएको उपाध्यक्ष शाहीले जानकारी गराए ।
खत्याड गाउँपालिका अध्यक्ष अजबहादुर शाहीका अनुसार आगामी आर्थिक वर्षका लागि ६८ करोड ९८ लाख १८ हजार बजेट सार्वजनिक गरिएको छ । उक्त कुल बजेटमध्ये चालुतर्फ ५४ करोड ६७ लाख १८ हजार र पुँजीगततर्फ १४ करोड, २१ लाख प्रस्ताव गरिएको अध्यक्ष शाहीको भनाई छ ।
त्यसैगरी, मुगुमा कार्मारोङ गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ४५ करोड १६ लाख ४८ हजार बजेट सार्वजनिक गरिएको अध्यक्ष छिरिङक्याप्ने लामाले बताए ।
नीति तथा कार्यक्रममा विशेष गरी शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार, खानेपानी, सरसफाइ तथा श्रमदान बैंकलाई विशेष जोड् दिँदै विविध किसिमका कार्यक्रम रहेको छ ।
शिक्षा, स्वास्थ्य, कृषिलाई पहिलो प्राथमिकता राख्दै मुगु जस्तो दुर्गम जिल्लामा रोग स्वास्थ्य क्षेत्रमा पछाडि परेको जिल्लालाई मध्ये नजर गर्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । आर्थिक, सामाजिक, शिक्षा, स्वास्थ्य, पूर्वाधार , वातावरणीय र सुशासनको क्षेत्रमा प्राथमिकताका साथ समृद्धमा जोड दिइने नीतिमा उल्लेख गरिएको छ ।
बुधबार सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा छाँयानाथ रारा नगरपालिकाले वर्ष दसैँ जस्ता महान् चाडपर्वमा दलितहरूलाई वितरण गर्दे आएको भत्ता यो वर्ष एक हजार बढाएर ३ हजार ५ सय गरिएको छ भने गत वर्ष २ हजार पाँच सयले वितरण गरेको थियो । प्रस्तुत गरिएको कार्यक्रममा एकल महिलासँग नगर उपप्रमुख भेटघाट कार्यक्रमलाई थप प्रभावकारी रूपमा अगाडि बढाइने नगर उपप्रमुख ऐश्वर्या मल्लले बताइन् । अपाङ्गता परिचयपत्र वितरण कार्यक्रमलाई निरन्तरता दिइने बताइएको छ । साथै, कर्णाली प्रदेशको प्रमुख पर्यटकियस्थल रारा ताल क्षेत्र यस नगरपालिका क्षेत्रमा रहेको हुँदा रारा तालको पर्यटन विकास र पर्यटकहरूलाई मध्येनजर गर्दै रारामा भौतिक पूर्वाधार निर्माण तथा राराको विकासबारे गुरुयोजना निर्माण गरिने नीति तथा कार्यक्रममा सार्वजनिक गरिएको छ ।
सोरू गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीका अनुसार गाउँपालिकाको जीवन रेखासँग जोडिएको कर्णाली कोरिडोर तथा दो मुखबाट सदरमुकाम गमगढी बजार जोड्ने सडकअन्तर्गत सिस्ने खर्क बेलिब्रिज दो मुख पुल निर्माण गर्न १ करोड बजेट विनियोजन गरिएको छ । गाउँपालिकाले विकास निर्माणका योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै नागरिकको जीवनस्तर उकास्ने, सुशासन प्रवद्र्धन गर्ने तथा स्थानीय आवश्यकतामा आधारित कार्यक्रम सञ्चालन गर्ने उद्देश्यका साथ बजेट विनियोजन गरिएको जनाएको छ ।
यस्तै, मुगम कार्मारोङ गाँउपालिकाले वन्यजन्तु, जडीबुटी, सडक, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा बढी जोड दिर्ने नीति तथा कार्यक्रममा समावेश गरिएको गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताएका छन् ।








प्रतिक्रिया