काठमाडौं । शरद चन्द्र शाह मेमोरियल फाउण्डेसन (एससीएसएमएफ)ले नेपाली खेलकुदमा महत्वपूर्ण योगदान पुर्याउने विशिष्ट र उदीयमान खेलाडीहरूलाई सम्मान गर्दै मंगलबार काठमाडौंमा ‘एससीएसएमएफ स्पोर्ट्स अवार्ड २०२६’ सम्पन्न गरेको छ ।
फाउण्डेसनले खेलकुद क्षेत्रमा पुरानो पुस्ता र नयाँ पुस्ताको योगदानलाई कदर गर्ने उद्देश्यले आयोजित समारोहमा नेपाली बक्सिङका वरिष्ठ खेलाडी तथा ओलम्पियन उमेश मास्के र नेपाली क्रिकेटका स्टार खेलाडी सन्दीप लामिछानेलाई सम्मानित गरेको हो ।
मास्केले सन् १९८० को मस्को ओलम्पिक र १९८४ को लस एन्जलस ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेका थिए । सक्रिय खेल जीवनबाट सन्यास लिएपछि पनि नेपालमा बक्सिङ खेलको प्रवर्द्धनमा मास्केले आजीवन योगदान दिएका छन् । न्यू राइजिङ स्पोर्ट्स क्लबको स्थापना गर्नुका साथै उनले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपाली बक्सिङ टोलीको म्यानेजर र संयोजकको रूपमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । सन् १९८८ देखि १९९२ सम्म कोषाध्यक्ष र सन् १९९५ देखि २००० सम्म नेपाल बक्सिङ संघको अध्यक्षको जिम्मेवारी सम्हाल्दै बक्सिङ खेलको विकासमा पुर्याएको उच्च योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको फाउण्डेसनले जनाएको छ ।

त्यसैगरी, राष्ट्रिय क्रिकेट टोलीबाट खेल्दै आएका सन्दीप विश्वप्रसिद्ध इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने पहिलो नेपाली खेलाडी हुन् । नेपालको राष्ट्रिय क्रिकेट टोलीको कप्तानको रूपमा जिम्मेवारी सम्हाल्दै विश्वसामु नेपाली क्रिकेटको उदय गराउन उनको भूमिका उल्लेखनीय छ । हालै मात्र एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा विश्वकै सबैभन्दा छिटो २०० विकेट लिने खेलाडीको विश्व कीर्तिमान कायम गरेको ऐतिहासिक सफलताको उच्च मूल्याङ्कन गर्दै उनलाई यो पुरस्कार प्रदान गरिएको फाउण्डेसनले जनाएको छ ।
हाल व्यस्त खेल तालिकाका कारण देश बाहिर रहेकाले सन्दीप उक्त समारोहमा उपस्थित हुन नसकेका सन्दीपको प्रतिनिधित्व गर्दै काठमाडौं जिल्ला क्रिकेट संघका सचिव तथा पूर्व राष्ट्रिय टोलीका खेलाडी किरण राणाले उक्त सम्मान ग्रहण गरेका थिए । समारोहमा भिडियो सन्देशमार्फत सन्दीपले यस्तो प्रतिष्ठित सम्मान प्राप्त गर्न पाउँदा अत्यन्तै खुसी लागेको व्यक्त गर्दै नेपाली खेलकुदको विकासमा स्वर्गीय शरद चन्द्र शाहले पुर्याएको अतुलनीय योगदानको स्मरण समेत गरेका थिए ।
पुरस्कारस्वरूप दुवै जनालाई जनही २ लाख ५० हजार नगद र कदरपत्र प्रदान गरिएको थियो ।
फाउण्डेसनले खेलकुद क्षेत्रमा योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई प्रोत्साहन, सहयोग र सम्मान गर्दै आएको छ । यसअघि फाउण्डेसनले एससीएसएमएफ स्पोर्ट्स अवार्ड २०२४ मार्फत कीर्तिमानी धावक बैकुण्ठ मानन्धर र करातेकी उदीयमान खेलाडी एरिका गुरुङ तथा एससीएसएमएफ स्पोर्ट्स अवार्ड २०२५ मार्फत पूर्व फुटबल खेलाडी तथा प्रशिक्षक राजुकाजी शाक्य र भलिबल खेलाडी अरुणा शाहीलाई सम्मान गरेको थियो ।
शरद चन्द्र शाह मेमोरियल फाउण्डेसन स्वर्गीय शरद चन्द्र शाहको सम्झनामा उनका परिवारजनले २०२० नोभेम्बर ३० मा स्थापना गरेका थिए । शाह नेपाली खेलकुद इतिहासमा प्रमुख परिवर्तन ल्याउने व्यक्तिका रुपमा चिनिन्छन् ।
शाह एशियाली ओलम्पिक परिषद्को उपाध्यक्षको रूपमा सेवा गर्ने पहिलो नेपाली थिए । नेपालमा राष्ट्रिय खेलकुदको सुरुवात र ओलम्पिक मुभमेन्ट ल्याउने व्यक्ति स्वर्गीय शाह नै थिए । उनी २०३४ देखि २०४५ सालसम्म राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव तथा नेपाल ओलम्पिक कमिटीको अध्यक्ष रहेका थिए । उनी नेपालको राष्ट्रिय प्रतियोगिता तथा साउथ एशियन गेम्सको योजनाकार पनि थिए ।








प्रतिक्रिया