काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठकले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई घोर प्रतिशोधपूर्ण, पूर्वाग्रहप्रेरित तथा गैरकानुनी भएको ठहर गर्दै त्यसको दृढतापूर्वक प्रतिवाद गर्ने निर्णय गरेको छ ।
अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा मंगलबार साँझ बसेको बैठकले पौडेलको गिरफ्तारीविरुद्ध राजनीतिक तथा कानुनी दुवै रूपमा सशक्त कदम चाल्ने निर्णय गरेको हो ।
बैठकले वस्तुपरक तथ्य र प्रमाणबिना सम्पत्ति शुद्धीकरणको बहानामा राजनीतिक प्रतिशोधका आधारमा गिरफ्तारी गरिएको निष्कर्ष निकालेको हो । साथै, विशेष अदालतले पूर्वपक्षका लागि थुनामा राख्न दिएको आदेशसमेत न्यायसम्मत नरहेको निष्कर्ष निकाल्दै एमालेले त्यसप्रति असहमति जनाएको छ ।
एमालेले उपाध्यक्ष पौडेललाई बिनासर्त अविलम्ब रिहा गर्न माग गरेको छ । साथै, राज्य संयन्त्रको प्रतिशोधपूर्ण र विभेदकारी कदमविरुद्ध देशव्यापी राजनीतिक प्रतिरोध तथा भण्डाफोर अभियान सञ्चालन गर्न पार्टीपङ्क्ति र न्यायप्रेमी जनसमुदायलाई एमालेले आह्वान गरेको छ ।
यी हुन् निर्णयहरु :
– गैरकानुनी गिरफ्तारीको निन्दा: बिनाकुनै वस्तुपरक तथ्य र प्रमाण, केवल राजनीतिक प्रतिशोध साध्ने कुत्सित मनसायका साथ सम्पत्ति शुद्धीकरणको बहानामा गरिएको गैरकानुनी गिरफ्तारीको पार्टीले राजनीतिक र कानुनी दुवै रूपमा सशक्त प्रतिवाद गर्ने ।
–अदालती आदेशप्रति असहमति : राजनीतिक पूर्वाग्रहबाट अभिप्रेरित यस घटनामा विशेष अदालतले पूर्वापक्षका लागि थुनामा राख्न दिएको आदेशसमेत न्यायसम्मत नरहेको ठहर गर्दछ ।
–विनासर्त रिहाइको माग : बैठकले पार्टीका उपाध्यक्ष कमरेड विष्णुप्रसाद पौडेललाई बिनासर्त अविलम्ब रिहा गर्न जोडदार माग गर्दछ ।
भण्डाफोर अभियान : राज्य संयन्त्रको यस प्रकारको निरङ्कुश, प्रतिशोधपूर्ण र विभेदकारी कदमका विरुद्ध देशव्यापी रूपमा राजनीतिक प्रतिरोध र भण्डाफोर अभियान सञ्चालन गर्न बैठकले सम्पूर्ण पार्टीपङ्क्ति एवं न्यायप्रेमी जनसमुदायलाई हार्दिक आह्वान गर्दछ ।








प्रतिक्रिया