–अन्जनी कुमार अधिकारी
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाले कृषकलाई राहत दिने महत्वपूर्ण निर्णय गर्दै कृषि प्रयोजनका विद्युत् मिटरमा लाग्ने अतिरिक्त ५ प्रतिशत भ्याट आफैंले व्यहोर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत नगरपालिकाले यस्तो व्यवस्था गरेको हो ।
मंगलबार सम्पन्न २० औं नगरसभामा उपप्रमुख मणिकादेवी दुलालले १ अर्ब ३७ करोड ९ लाख ५ हजार २ सय १२ रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्दै कृषि, पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन तथा सामाजिक सुरक्षालाई प्राथमिकतामा राखिएको जानकारी दिइन् ।
नगरप्रमुख कालुमान लामाको अध्यक्षतामा सम्पन्न नगरसभाले चौदण्डीगढीलाई उत्पादनमुखी, पूर्वाधारमैत्री तथा पर्यटन गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित विभिन्न योजना सार्वजनिक गरेको छ ।
कुल बजेटमध्ये ९१ करोड ८५ लाख रुपैयाँ चालु तथा प्रशासनिक खर्च र सशर्त अनुदानतर्फ तथा ४५ करोड २४ लाख ५ हजार २ सय १२ रुपैयाँ विकास तथा पूँजीगत कार्यक्रमका लागि विनियोजन गरिएको छ ।
कृषि क्षेत्रलाई व्यवसायिक र उत्पादनमुखी बनाउन कृषकले प्रयोग गर्ने कृषि विद्युत् मिटरमा नेपाल विद्युत् प्राधिकरणले लिने अतिरिक्त ५ प्रतिशत भ्याट नगरपालिकाले तिर्ने व्यवस्था गरिएको छ । साथै, कृषि हाटबजार पूर्वाधार निर्माण, खरबुजा खेती प्रवद्र्धन, धान तथा गहुँको बीउमा अनुदान, प्राङ्गारिक कृषि प्रवर्द्धन कार्यक्रम, कृषि मोटर, टनेल तथा च्यापकटर अनुदान वितरणका कार्यक्रम पनि बजेटमा समेटिएका छन् । पशु स्वास्थ्य घुम्ती शिविर सञ्चालन र नदीजन्य पदार्थ उत्खननबाट प्रभावित क्षेत्र संरक्षणका योजना पनि अघि बढाइनेछ ।

पूर्वाधार विकासतर्फ संघीय तथा प्रदेश सरकारले समेट्न नसकेका नगरभित्रका सडकहरू बहुवर्षीय योजनाअन्तर्गत कालोपत्रे गरिने भएको छ । गत वर्षदेखि सञ्चालनमा रहेको सडक ग्राभेल तथा स्तरोन्नति कार्यक्रमलाई निरन्तरता दिँदै प्रत्येक वडामा १५ किलोमिटरका दरले कुल १५० किलोमिटर सडक स्तरोन्नति गर्ने लक्ष्य राखिएको छ ।
स्वास्थ्य क्षेत्रमा खानेपानी आयोजनाका लागि २ करोड रुपैयाँ विनियोजन गरिएको छ भने १५ शैयाको चौदण्डीगढी आधारभूत नगर अस्पताल आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । वडा नम्बर ५ स्थित सुन्दरपुर स्वास्थ्य चौकीका लागि एम्बुलेन्स खरिद गरिनेछ। मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर तथा मेरुदण्ड पक्षघातका बिरामीलाई मासिक ५ हजार रुपैयाँ उपचार सहायता उपलब्ध गराउने कार्यक्रमलाई समेत निरन्तरता दिइएको छ ।
सामाजिक सुरक्षाअन्तर्गत विपन्न मुसहर परिवारलाई प्रतिपरिवार ३ हजार रुपैयाँ चाडपर्व खर्च उपलब्ध गराइनेछ भने वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका व्यक्तिका परिवारलाई पनि चाडपर्व सहायता उपलब्ध गराइने भएको छ । विपन्न नागरिकको सद्गत तथा काजक्रिया खर्च व्यवस्थापनका लागि समेत बजेट छुट्याइएको छ ।
शिक्षा क्षेत्रतर्फ नगर तथा संघीय बाल शिक्षक, विद्यालय सहयोगी, लेखा कर्मचारी र सामुदायिक कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गराइने भएको छ । विपन्न विद्यार्थीलाई छात्रवृत्ति, विद्यालय भौतिक सुधार कार्यक्रम तथा वडा नम्बर ५ र ९ का मदरसालाई अनुदान उपलब्ध गराइने व्यवस्था पनि बजेटमा गरिएको छ ।
युवालाई सीप र रोजगारीसँग जोड्न सीप सम्मेलन आयोजना गरिने भएको छ भने पर्यटन प्रवर्द्धनका लागि रैथाने खाना महोत्सव, बेल्हामा थारु होमस्टे सञ्चालन, बेलबोटे–गढी दरबार पदमार्ग निर्माण तथा चौदण्डीगढी दरबारस्थित एलम्बर पार्कमा किराँत राजा एलम्बरको प्रतिमा निर्माण गर्ने योजना अघि सारिएको छ ।
नगरप्रमुख लामाले प्रस्तुत बजेटले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार विकासलाई सन्तुलित रूपमा अघि बढाउँदै समृद्ध चौदण्डीगढी निर्माणको आधार तयार गर्ने विश्वास व्यक्त गरे । साथै, नगरपालिकाको बेरुजु न्यूनीकरणलाई विशेष प्राथमिकतामा राखिएको उल्लेख गर्दै उनले हाल देखिएको बेरुजु तत्कालीन गाविस संरचनाको समयदेखिको बाँकी दायित्व मात्र रहेको दाबी गरे ।








प्रतिक्रिया