काठमाडौं । निर्माण तथा पूर्वाधार क्षेत्रमा आवश्यक आधुनिक उपकरणको वित्तीय पहुँचलाई सहज बनाउने उद्देश्यले एमएडब्लु अर्थमुभर्स प्रालि र ग्लोबल आइएमई बैंक लिमिटेडबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
समझदारीपत्रमा एमएडब्लु अर्थमुभर्सका तर्फबाट एफ एण्ड आर प्रमुख सञ्जय देव यादव र ग्लोबल आइएमई बैंकका तर्फबाट एसएमई तथा रिटेल बैंकिङ प्रमुख नरहरि सिलवालले हस्ताक्षर गरेका थिए ।
यस सहकार्यअन्तर्गत जेसीबी निर्माण उपकरण खरिद गर्न इच्छुक ग्राहकहरूले ग्लोबल आइएमई बैंकका शाखामार्फत विशेष हायर पर्चेज कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार लागू हुने लोन टू भ्यालू अनुपातका आधारमा अधिकतम ८० प्रतिशतसम्म वित्तीय सुविधा उपलब्ध गराउनेछ । ग्राहकलाई छिटो सेवा प्रदान गर्न आवश्यक कागजात तथा प्रक्रिया पूरा भएको एक साताभित्र डेलिभरी अर्डर जारी गरिनेछ । यस योजनाअन्तर्गत जेसीबी उपकरणका लागि अधिकतम पाँच वर्षसम्मको कर्जा अवधि उपलब्ध हुनेछ ।
यस सहकार्यले निर्माण व्यवसायी, ठेकेदार तथा उद्यमीहरूलाई उपकरण खरिदका लागि सहज वित्तीय पहुँच प्रदान गर्दै प्रक्रिया छरितो बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ । सहज कर्जा सुविधा र प्रतिस्पर्धी वित्तीय व्यवस्थाले साना तथा मझौला व्यवसायीहरूलाई समेत आधुनिक जेसीबी उपकरणमा लगानी गरी व्यवसाय विस्तार गर्न सहयोग पुर्याउने विश्वास गरिएको छ ।
कम्पनीका अनुसार जेसीबीको विश्वसनीय उपकरण एमएडब्लु अर्थमुभर्सको देशव्यापी बिक्रीपछिको सेवा सञ्जाल तथा ग्लोबल आइएमई बैंकको सहज वित्तीय सेवाको संयोजनले ग्राहकहरूलाई उपकरण खरिददेखि सञ्चालन र मर्मतसम्भारसम्म भरपर्दो समाधान प्रदान गर्ने अपेक्षा गरिएको छ ।
एमएडब्लु अर्थमुभर्स र ग्लोबल आइएमई बैंकले ग्राहक सुविधा, व्यावसायिक वृद्धि तथा नेपालको निर्माण एवं पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि थप ग्राहकमैत्री सेवाहरू विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।








प्रतिक्रिया