१९ असार २०८३, शुक्रबार

२ वर्षअघि पार्टीलाई भारी बहुमत दिलाएका बेलायती प्रधानमन्त्रीले किन दिनुपर्‍यो राजीनामा ?

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बेलायती प्रधानमन्त्री केयर स्टारमरले सोमबार प्रधानमन्त्री र लेबर पार्टीको नेता पदबाट राजीनामा दिएका छन् ।

१० डाउनिङ स्ट्रिट बाहिर राष्ट्रलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री र लेबर पार्टीको नेतृत्व दुवैबाट राजीनामा दिएका हुन् ।

उनले भने, ‘लेबर पार्टीले मलाई अर्को चुनावमा नेतृत्व गर्न सही व्यक्ति मान्दैन ।’

लेबर पार्टीभित्र उनको नेतृत्वलाई लिएर बढ्दो असन्तुष्टिको बीचमा स्टारमरको राजीनामा आएको हो ।

आफ्नै पार्टीका सांसदहरूले स्टारमरलाई तुरुन्तै पदबाट राजीनामा दिन माग गरेका थिए । स्वास्थ्यमन्त्री वेस स्ट्रिटिङ, रक्षामन्त्री जोन हेली र अर्का मन्त्री जेस फिलिप्सले स्टारमरको राजीनामा माग गर्दै राजीनामा दिएका थिए ।

स्टारमरले लेबर पार्टीले जुलाईको मध्यसम्ममा नयाँ नेता छनौट गर्ने बताए । नयाँ नेता र प्रधानमन्त्री चयन नभएसम्म उनी आफ्नो पदमा रहनेछन् ।

स्टारमरले नयाँ बन्ने आफ्नो उत्तराधिकारीलाई सहयोग गर्ने पनि बताए ।

स्टारमरले सोमबार बिहान बेलायतका राजा चार्ल्स तृतीयलाई आफ्नो निर्णयको बारेमा जानकारी गराएको बताए ।

लेबर पार्टीले अब नयाँ नेताको चुनाव तय गर्नेछ । बेलायतमा संसदमा बहुमत प्राप्त दलको नेता प्रधानमन्त्री बन्छन् ।

हाल लेबर पार्टी सत्तामा छ । त्यसकारण पार्टीको नयाँ नेता बन्ने व्यक्ति प्रधानमन्त्री बन्नेछन् । यसको लागि राष्ट्रव्यापी आम चुनाव आवश्यक पर्दैन ।

बीबीसीको रिपोर्ट अनुसार एन्डी बर्नह्याम स्टारमरको उत्तराधिकारीको दौडमा सबैभन्दा अघि छन् । बर्नह्याम हालै मेकरफिल्ड उपचुनाव जितेर संसदमा फर्किएका हुन् । उनलाई लेबर सांसदहरूको ठूलो समूहको समर्थन छ ।

मेकरफिल्ड उपचुनाव जितेपछि धेरै राजनीतिक विश्लेषकहरूले बर्नह्यामलाई स्टारमरको उत्तराधिकारी बन्ने सबैभन्दा सम्भावित बलियो उम्मेदवार भनेका छन् ।

बर्नह्यामलाई बेलायती राजनीतिमा एक लोकप्रिय व्यक्तित्व मानिन्छ । उनलाई पार्टीको वामपन्थी र मध्यपन्थी दुवै गुटबाट समर्थन प्राप्त छ । बर्नह्यामले यसअघि स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्मालेका थिए ।

स्टारमरले किन दिनुपर्‍यो राजीनामा ?

स्टारमरले दुई वर्षअघि सन् २०२४ चुनावमा लेबर पार्टीलाई भारी बहुमतले जित दिलाएका थिए तर त्यसबेलादेखि उनको लोकप्रियता निरन्तर घट्दै गएको छ । धेरै नीतिगत विवादहरू र चुनावमा जीवनस्तर सुधार गर्ने बाचाहरू पूरा गर्न असफलताका कारण उनको छवि बिग्रिएको थियो ।

स्टारमरले १९ जुनमा उनले आफ्नो नेतृत्वको लागि कुनै पनि चुनौतीको सामना गर्ने बताउँदै लेबर पार्टीका नेताहरूलाई आन्तरिक झगडा र खिचातानीमा नरुमलिन अपील समेत गरेका थिए ।

उपचुनावमा बर्नह्यामले जितेपछि स्टारमरको समस्या झनै बढ्यो । यो जितले बर्नह्यामलाई पार्टी कब्जा गर्ने बाटोमा पुर्‍याएको बेलायती राजनीतिक विश्लेषकहरूको दाबी छ । आफ्नो जितपछि बर्नह्यामले आफू देशलाई नयाँ दिशा दिन चाहेको बताएका थिए । त्यसपछि बर्नह्यामका सहयोगीहरूले स्टारमरको राजीनामा माग गरेका थिए ।

ट्रम्पले भनेका थिए– स्टारमरले राजीनामा दिँदैछन्

हिजोमात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रधानमन्त्री केयर स्टारमरले राजीनामा दिने दाबी गरेका थिए । सामाजिक सञ्जालमा लेख्दै ट्रम्पले स्टारमरले चाँडै पद छोड्ने दाबी गरेका थिए ।

‘केयर स्टारमरले बेलायतको प्रधानमन्त्री पदबाट राजीनामा दिनेछन् । उनी दुई धेरै महत्त्वपूर्ण विषयहरूमा नराम्ररी असफल भए– आप्रवासन र ऊर्जा (खुला उत्तरी समुद्री तेल !)। म उनलाई शुभकामना दिन्छु !’ ट्रम्पले ट्रुथ सोसलमा लेखेका थिए ।