३२ असार २०८३, बिहिबार

स्थानीय सरकारलाई गाउँ बाहिर बस्ने स्थानीयको साथ, खेल मैदान बनाउन १० लाख सहयोग

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रामेछाप । स्थानीयस्तरका योजना निर्माणमा स्थानीयको सहभागिता कार्यक्रमअन्तर्गत रामेछापको मन्थली नगरपालिका–८ चिसापानीले सुरु गरेको योजनामा रोजगारीको सिलसिलामा गाउँ बाहिर बस्ने स्थानीयले साथ दिएका छन् ।

स्थानीयसँगको साझेदारीमा वडा कार्यालयले सुरु गरेको प्याराफिटसहितको भलिबल खेल मैदान निर्माणको काममा स्थानीयले अभूतपूर्व सहयोग गरेका वडाध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिए । करिब २० लाख रुपैयाँ खर्च हुने खेल मैदान निर्माणको लागि वडा कार्यालयले ८ लाख रुपैयाँ विनियोजन गरेको थियो ।

बाँकी रकम स्थानीयको श्रमदान र सहयोग जुटाउने योजना अनुसार निर्माण कार्य सुरु गरिएकोमा कामको सिलसिलामा काठमाडौंसहित देश बाहिर बस्ने स्थानीयले हालसम्म १० लाख रुपैयाँ जुटाएर उपभोक्ता समितिलाई सहयोग गरेका छन् । स्थानीय गाउँलेहरूले पनि सो खेल मैदान निर्माणको लागि श्रमदान लगायतका सहयोग गरिरहेका उनले जानकारी दिए । सो गाउँमा रहेका विभिन्न संस्थाहरूमार्फत १० लाख रुपैयाँभन्दा बढी रकमा जुटाइएको चिसापानी जनकल्याण समाज काठमाडौंका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताए ।

चिसापानीमा जन्मिएर अस्थायी रूपमा काठमाडौं बस्दै आएका प्रकाश श्रेष्ठले खेल क्षेत्रको प्रवर्द्धन र खेलमार्फत गाउँको अर्थतन्त्र विकासका लागि आफूहरूले यो पहल गरेको बताए । उनले आफूहरूले गाउँ बाहिर रहे पनि गाउँको बारेमा सोची रहने र सोही सोच अनुसार सहयोग जुटाएको बताए ।

सङ्कलित रकम हस्तान्तरण कार्यक्रममा सहभागीले गाउँमा गरिने रचनात्मक कामको लागि आफूहरूले अझै सहयोग गर्ने बताए । उनीहरूले यस्ता कामले गाउँको लागि केही गर्नुपर्छ भन्ने भावना जगाइ राख्ने धारणा राखे ।