काठमाडौं । पहिलोपटक विश्वकप खेलेको केप भर्डले दुई पटकको विश्वकप विजेता उरुग्वेसँग पनि बराबरी खेलेको छ ।
नेपाली समयअनुसार सोमबार बिहान अमेरिकाको मियामी रंगशालामा भएको खेलमा केप भर्डले उरुग्वेसँग २–२ गोलको बराबरी खेलेको हो ।
केप भर्डले सुरुआती अग्रता लिए पनि उरुग्वेले पुनरागमन गर्दै खेलमा प्रतिस्पर्धात्मक प्रदर्शन गरेको थियो ।
केप भर्डका लागि केभिन पिनाले खेलको २१ औं मिनेटमा सुरुवाती गोल गरे । अग्रता लिएपछि केप भर्डको खेल आक्रामक बनेको थियो । तर ४४ औं मिनेटमा उरुग्वेका माक्सी अराउजोले गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याएका थिए ।
त्यसपछि पहिलो हाफको इन्जुरी समय (४५ प्लस ६ औं मिनेट)मा अगुस्टिन कानोबियोले गोल गर्दै उरुग्वेलाई २–१ को अग्रता दिलाएका थिए ।
खेलको ६१ औं मिनेटमा केप भर्डका हेलियो भारेलाले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए । त्यसपछि दुवै टोली गोल गर्न नसक्दा खेल २–२ गोलको बराबरीमा सकियो ।
यसअघि आफ्नो पहिलो खेलमा केप भर्डले सन् २०१० को विश्वकप विजेता स्पेनसँग गोलरहित बराबरी खेलेर विश्वकपको सुरुवात गरेको थियो ।








प्रतिक्रिया