काठमाडौं । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी कोशिश श्रेष्ठले भारतको इन्टरनेसनल फाइट लिग (आईएफएल)मा दिल्ली टिमको प्रतिनिधित्व गर्ने भएका छन् ।
भारतको पहिलो फ्रेन्चाइजमा आधारित एमएमए प्रतियोगिताका रूपमा परिचित आईएफएल दक्षिण एशियामै तीव्र रूपमा लोकप्रिय बन्दै गएको कम्ब्याट स्पोर्ट्स प्लेटफर्म हो ।
इन्डियन प्रिमियर लिग (आईपीएल), प्रो कबड्डी लिग र इन्डियन सुपर लिग (आईएसएल)जस्ता सफल फ्रेन्चाइज मोडेलमा आधारित प्रतियोगिताहरूबाट प्रेरित आईएफएलले विभिन्न शहरका टिममार्फत यस क्षेत्रका उत्कृष्ट फाइटरहरूलाई एउटै मञ्चमा ल्याएको छ । यसले एमएमए खेललाई व्यावसायिक र दिगो बनाउने उद्देश्यसहित नयाँ अवसर सिर्जना गरिरहेको छ ।
हाल १–० को व्यावसायिक एमएमए रेकर्ड कायम गरेका श्रेष्ठले दिल्ली टिमबाट प्रतिस्पर्धा गर्नेछन् । उनले मुम्बई फ्रेन्चाइजका अनुभवी फाइटर प्रचण्ड जामिल्यासँग भिड्नेछन्, जसको एमेच्योर रेकर्ड १४–४ रहेको छ । दिल्ली र मुम्बईबीचको यो भिडन्त प्रतियोगिताकै प्रमुख आकर्षणमध्ये एक हुने अपेक्षा गरिएको छ ।
अन्तर्राष्ट्रिय फाइट लिगले छोटो समयमै महत्त्वपूर्ण उपलब्धि हासिल गर्दै आफ्ना प्रतियोगिताहरूलाई विश्वकै अग्रणी कम्ब्याट स्पोर्ट्स डिजिटल प्लेटफर्म यूएफसी फाइट पासमार्फत विश्वभर प्रसारण गराउन सफल भएको छ । लिगले सन् २०२६ भित्र छवटा ठूला प्रतियोगिता आयोजना गर्ने महत्वकांक्षी योजना बनाएको छ, जसले यस क्षेत्रको एमएमए खेललाई अझ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ ।
अन्तर्राष्ट्रियस्तरमा नेपाली खेलाडीहरूको पहिचान बढिरहेको सन्दर्भमा, दिल्ली फ्रेन्चाइजमा श्रेष्ठको सहभागितालाई पनि अर्को महत्त्वपूर्ण उपलब्धिका रुपमा हेरिएको छ । यसले व्यावसायिक कम्ब्याट स्पोर्ट्समा नेपाली प्रतिभाको बलियो उपस्थिति देखाउनुका साथै नेपालले उच्च स्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादन गर्न सक्ने सम्भावनालाई पनि उजागर गरेको छ ।
दक्षिण एशियाभरी नै मिक्स्ड मार्शल आर्ट्सको लोकप्रियता बढिरहेका बेला आईएफएलमा कोशिश श्रेष्ठको सहभागिताले नेपाली फाइटिङ प्रतिभालाई विश्वसामु प्रस्तुत गर्ने महत्त्वपूर्ण अवसर प्रदान गर्नेछ ।








प्रतिक्रिया