२० असार २०८३, शनिबार

नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा धारा निर्माण, लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा हस्तान्तरण

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल । लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीका संस्थापक अध्यक्ष भेषराज पोखरेलका पिता स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा निर्माण गरिएको खानेपानी धारा आज एक विशेष समारोहकाबीच जितेश्वरी माध्यमिक विद्यालय, बुटवल–१३, बदेलपोखरीलाई हस्तान्तरण गरिएको छ। सोही अवसरमा धाराको औपचारिक उद्घाटन समेत सम्पन्न भएको थियो।

संस्थापक अध्यक्ष पोखरेलका सुपुत्र सम्राट पोखरेलको जन्मदिनको अवसर पारेर विद्यालय तथा स्थानीय समुदायको हितलाई केन्द्रमा राखी निर्माण गरिएको उक्त धारा विद्यालयलाई समर्पण गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि लियो जिल्ला परिषद् ३२५ पी नेपालका जिल्ला अध्यक्ष तथा लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीका पूर्व अध्यक्ष श्रीधर बस्याल रहेका थिए। कार्यक्रममा धारा निर्माण समितिका संयोजक आत्माराम भण्डारी, सह–संयोजक लक्ष्मण खनाल तथा विशाल खनाल, पूर्व अध्यक्ष एवं एरिया चिफ जीवन थापा क्षेत्री लगायतले मन्तव्य व्यक्त गर्दै संस्थापक अध्यक्ष भेषराज पोखरेलको परिकल्पना तथा क्लबको नेतृत्वमा विद्यालयमा शुद्ध खानेपानीको पहुँच विस्तार गर्ने उद्देश्यले धारा निर्माण गरिएको जानकारी गराएका थिए । विद्यालयका प्राचार्य उपेन्द्र ज्ञवालीले क्लबले आफ्नो विद्यालयलाई छनोट गरी सामाजिक उत्तरदायित्वअन्तर्गत महत्वपूर्ण योजना सञ्चालन गरेकोमा धन्यवाद व्यक्त गर्दै यसबाट विद्यार्थी तथा विद्यालय परिवार प्रत्यक्ष लाभान्वित हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा लियो क्लबका संस्थापक तथा पूर्व अध्यक्षहरू, वर्तमान कार्यसमितिका पदाधिकारीहरू, स्थानीय विभिन्न परोपकारी संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू, समाजसेवी, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

वक्ताहरूले स्वर्गीय नुमराज पोखरेलको स्मृतिलाई समाजसेवासँग जोडेर गरिएको यस कार्यको उच्च प्रशंसा गर्दै विद्यालयमा शुद्ध तथा सुरक्षित खानेपानीको उपलब्धता सुनिश्चित गर्न धारा महत्वपूर्ण साबित हुने धारणा व्यक्त गरेका थिए।

कार्यक्रमकाबीच विद्यालयलाई धारा औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो। सामाजिक उत्तरदायित्व, मानवीय सेवा तथा समुदायप्रतिको प्रतिबद्धतालाई आत्मसात् गर्दै सम्पन्न गरिएको यस कार्यले विद्यालयका विद्यार्थी तथा स्थानीय समुदायलाई दीर्घकालीन रूपमा लाभ पुग्ने विश्वास व्यक्त गर्दै क्लबका अध्यक्ष लियो अशोक कुमार श्रेष्ठले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिइने बताए ।

कार्यक्रममा समाजसेवी कमल सापकोटा तथा सरु थापाले क्लबप्रति आभार व्यक्त गर्दै यस्ता परोपकारी कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताएका थिए। कार्यक्रमको सञ्चालन क्लबका मेम्बरसिप चेयरपर्सन लियो कविराज भुसालले गरेका थिए ।