६ असार २०८३, शनिबार

मध्यरातमा मन्त्रीको घरमा प्रहरी पुगेपछि…

5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीको विराटनगरस्थित सरकारी निवासमा बिहीबार राति प्रहरी पुगेको घटनाले राजनीतिक तथा सार्वजनिक वृत्तमा चर्चा पाएको छ। प्रदेश सभाको बैठकमा समेत यो विषय उठाइएको छ।

प्रहरी स्रोतका अनुसार राति करिब ११ बजे विराटनगर–३ मा रहेको मन्त्रीको सरकारी निवास क्षेत्रमा प्रहरी टोली पुगेको थियो। घटनाका बेला मन्त्री पराजुली भने निवासमा उपस्थित थिएनन्। उनी संखुवासभा भ्रमणमा रहेको जनाइएको छ।

मन्त्री पराजुलीले आफू निवासबाहिर रहेका बेला छिमेकीमार्फत प्रहरी पुगेको जानकारी प्राप्त गरेको बताए। घटनाबारे प्रहरीले नै आधिकारिक रूपमा स्पष्ट पार्नुपर्ने उनको भनाइ छ।

यता जिल्ला प्रहरी कार्यालय मोरङले भने मन्त्रीको निवासमा कुनै प्रकारको छापा नमारिएको जनाएको छ। प्रहरीका अनुसार अनुसन्धानका क्रममा प्राप्त भएको सूचनाको आधारमा टोली त्यस क्षेत्रमा पुगेको हो।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालले एक व्यक्तिको सम्भावित उपस्थितिबारे सूचना प्राप्त भएपछि प्रहरी परिचालन गरिएको बताए। तर, प्रारम्भिक अनुसन्धानबाट सूचना पुष्टि हुन नसकेपछि टोली त्यहाँबाट फर्किएको उनको भनाइ छ।

प्रहरीका अनुसार आपराधिक घटनामा संलग्न रहेको आरोप लागेका विमल भट्टराईको खोजीका क्रममा उक्त क्षेत्रसम्म प्रहरी पुगेको थियो। प्रहरी स्रोतले मन्त्रीको सरकारी निवासका रूपमा प्रयोग हुनुअघि सो भवनमा भट्टराई बसोबास गर्ने गरेको जानकारी अनुसन्धानका क्रममा खुलेको जनाएको छ।