११ असार २०८३, बिहिबार

महाराजगञ्जमा आधुनिक व्यायाम पार्क

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिका–३ महाराजगञ्जस्थित नेपाल प्रहरी एकेडेमी अगाडि तथा थाइल्याण्डका राजदूत निवास नजिकको उकालो क्षेत्रमा निर्माण गरिएको खुला शारीरिक व्यायाम पार्कको शुक्रबार एक विशेष कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।

पार्कको उद्घाटन काठमाडौं महानगरपालिका–३ का वडा अध्यक्ष प्रेम थापा तथा वडा सदस्य केशबलाल श्रेष्ठले संयुक्त रूपमा गरेका हुन् । उद्घाटन कार्यक्रममा स्थानीय बासिन्दा, समाजसेवी, विभिन्न संघसंस्थाका प्रतिनिधि, ज्येष्ठ नागरिक तथा स्वास्थ्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

स्थानीय समुदायको स्वास्थ्य प्रवर्द्धन, नियमित शारीरिक व्यायामको संस्कार विकास तथा स्वस्थ जीवनशैलीलाई प्रोत्साहन गर्ने उद्देश्यले निर्माण गरिएको उक्त पार्कमा विभिन्न प्रकारका आधुनिक व्यायाम उपकरण जडान गरिएको छ । खुला वातावरणमा व्यायाम गर्न मिल्ने व्यवस्था भएकाले बालबालिका, युवा तथा ज्येष्ठ नागरिक सबै वर्गका व्यक्तिहरूले सहज रूपमा उपयोग गर्न सक्नेछन् ।

उद्घाटन समारोहमा बोल्दै वडा अध्यक्ष थापाले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर सार्वजनिक स्थानहरूको सदुपयोग गर्दै यस्ता पूर्वाधार निर्माणलाई निरन्तरता दिइने बताए । उनले स्वस्थ नागरिक नै समृद्ध समाज निर्माणको आधार भएकाले व्यायाम र स्वास्थ्य सचेतनालाई वडा कार्यालयले विशेष महत्व दिएको उल्लेख गरे ।

कार्यक्रममा सहभागी स्थानीयबासीहरूले पार्क निर्माणसँगै नियमित व्यायामका लागि उपयुक्त स्थान प्राप्त भएको भन्दै खुशी व्यक्त गरेका थिए ।

उद्घाटनपश्चात उपस्थित व्यक्तिहरूले व्यायाम उपकरणहरूको प्रयोग समेत गरेका थिए ।

वडा नम्बर ३ को पहलमा स्थापना गरिएको यो व्यायाम पार्कले स्थानीय समुदायमा स्वास्थ्यप्रति जागरण अभिवृद्धि गर्नुका साथै शारीरिक तन्दुरुस्ती कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।