१ श्रावण २०८३, शुक्रबार

बाबुको स्वास्थ्य अवस्थाप्रति चिन्तित छन् मेस्सी

परिवाले भन्यो– अन्य स्रोतबाट आउने जानकारीलाई सही नमान्नू

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जारी फिफा विश्वकप २०२६ मा अल्जेरियाविरुद्ध ह्याट्रिक गरेका अर्जेन्टिनाका फुटबल लिजेन्ड लिओनेल मेस्सीका बुबा जर्ज मेस्सी स्वास्थ्य समस्याबाट पीडित छन् । उनी चिकित्सकको निगरानीमा छन् ।

मेस्सीको परिवारले एक आधिकारिक विज्ञप्ति जारी गर्दै उनको स्वास्थ्यमा निरन्तर सुधार भइरहेको जनाएको छ ।

विज्ञप्तिमा जर्ज मेस्सी हाल स्वास्थ्य समस्याबाट पीडित रहेको र डाक्टरहरूको निगरानीमा उपचार भइरहेको बताइएको छ ।

परिवारले भनेको छ, ‘जर्ज मेस्सीको स्वास्थ्य अवस्था बिग्रिएको छ । उहाँ चिकित्सकीय निगरानीमा हुनुहुन्छ र उहाँको अवस्थामा सकारात्मक सुधार भइरहेको छ ।’

परिवारले मिडिया र सामाजिक सञ्जालमा फैलिएको अनुमान र अफवाहप्रति पनि निराशा व्यक्त गरेको छ । परिवारले केही व्यक्तिहरूले यो निजी पारिवारिक मामिलाको संवेदनशीलता, सम्मान र गोपनीयतालाई बेवास्ता गरेको उल्लेख गरेका छन् ।

परिवारले उनका नजिकका आफन्तहरूलाई मात्र जर्जको वास्तविक स्वास्थ्य अवस्थाको बारेमा जानकारी रहेको स्पष्ट पारेको छ । त्यसैले, परिवार वा यसको आधिकारिक माध्यमबाहेक अन्य स्रोतहरूबाट आउने जानकारीलाई सही नमान्न आग्रह गरेको छ ।

‘कुनै व्यक्तिको स्वास्थ्य र उसको परिवारको मानसिक शान्ति अनुमान वा गैरजिम्मेवार मिडिया कभरेजको अधीनमा हुनु हुँदैन । हामी सबैलाई जिम्मेवारी, संयम र मानवता अभ्यास गर्न अपील गर्दछौँ ।’ विज्ञप्तिमा भनिएको छ ।

फिफा विश्वकपमा अर्जेन्टिनाको पहिलो खेलको क्रममा मेस्सी गोल गरेपछि भावुक हुँदै रोएको देखिएका थिए ।

खेलपछि उनले आफू खेल बाहेक अन्य केही व्यक्तिगत कारणले गर्दा कठिन समयबाट गुज्रिरहेको बताएका थिए ।

मेस्सीले भने, ‘यो खेलसँग सम्बन्धित थिएन । पछिल्ला केही दिनहरू मेरो लागि धेरै कठिन र जटिल भएका छन् । म सम्पूर्ण टोली र मेरा सहकर्मीहरूप्रति आभारी छु, जसले मलाई निरन्तर समर्थन गर्नुभयो र प्रोत्साहन गर्नुभयो ।’

मेस्सीले जारी २०२६ को फिफा विश्वकपको पहिलो खेलमा अल्जेरियाविरुद्ध ह्याट्रिक गरेर इतिहास रचेका हुन् । यो उनको करियरको पहिलो फिफा विश्वकप ह्याट्रिक हो । यससँगै उनले विश्वकपमा आफ्नो कुल गोल संख्या १६ पुर्‍याए, उनले पूर्व जर्मन स्ट्राइकर मिरोस्लाभ क्लोसको रेकर्ड बराबरी गरेका हुन् ।

मेस्सीले अर्जेन्टिनाका लागि आफ्नो २०० औं अन्तर्राष्ट्रिय खेल पनि खेलेका हुन् ।

जारी विश्वकपमा अर्जेन्टिनाको अर्को खेल जुन २२ मा अस्ट्रियाविरुद्ध छ ।