३० असार २०८३, मंगलबार

काठमाडौं महानगरको २५ अर्ब ८८ करोडभन्दा बढीको बजेट सार्वजनिक

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

नगरसभामा कार्यवाहक मेयर सुनिता डंगोलले नीति तथा कार्यक्रमसँगै आर्थिक विधेयक र विनियोजन विधेयक प्रस्तुत गर्दै उक्त बजेट घोषणा गरेकी हुन्।

प्रस्तावित बजेटमध्ये २५ अर्ब १३ करोड ३० लाख ५५ हजार रुपैयाँ सञ्चित कोषमार्फत खर्च हुने अनुमान गरिएको छ भने ७५ करोड रुपैयाँ अन्य दायित्वतर्फ विनियोजन गरिएको छ।

महानगरका अनुसार आगामी आर्थिक वर्षमा आन्तरिक आम्दानी तथा बैंक मौज्दातबाट २० अर्ब १८ करोड ६३ लाख २९ हजार रुपैयाँ स्रोत जुट्ने अपेक्षा गरिएको छ। त्यसैगरी संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने सशर्त, समानीकरण र राजस्व बाँडफाँड अनुदानमार्फत ४ अर्ब ९३ करोड ६७ लाख २६ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। जनसहभागिताबाट थप १ करोड रुपैयाँ संकलन हुने लक्ष्य राखिएको छ।

क्षेत्रगत रूपमा हेर्दा पूर्वाधार विकासलाई सबैभन्दा बढी प्राथमिकता दिइएको छ। यस शीर्षकमा १५ अर्ब ३१ करोड ६७ लाख ४८ हजार रुपैयाँ अर्थात् कुल बजेटको ६१ प्रतिशत छुट्याइएको छ।

सामाजिक विकासतर्फ २ अर्ब ४२ करोड २७ लाख ३१ हजार रुपैयाँ (९.६ प्रतिशत), आर्थिक विकासका कार्यक्रमका लागि ५४ करोड १८ लाख २० हजार रुपैयाँ (२.१ प्रतिशत) तथा सुशासन र अन्तरसम्बन्धित क्षेत्रमा २ अर्ब १३ करोड ४७ लाख ९२ हजार रुपैयाँ (८.५ प्रतिशत) विनियोजन गरिएको छ।

यस्तै, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि ४ अर्ब ७१ करोड ६९ लाख ६४ हजार रुपैयाँ अर्थात् कुल बजेटको १८.८ प्रतिशत रकम प्रस्ताव गरिएको छ।

महानगरले चालु आर्थिक वर्ष २०८२/८३ का लागि २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट स्वीकृत गरेको थियो।