काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेका छन् ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै उनले पार्टीको सक्रिय राजनीतिबाट अलग भएको जानकारी गराएका हुन् ।
‘आज मेरो जन्मदिनको अवसरमा शुभकामना व्यक्त गर्नुहुने सम्पूर्ण आदरणीय आफन्त, मित्रजन, शुभेच्छुक तथा सहकर्मीहरूप्रति हृदयदेखि नै हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’ महराले फेसबुकमा लेखेका छन्, ‘उमेरको ७० औं वर्षमा प्रवेश गर्दै गर्दा, लामो समयदेखि स्वास्थ्यमा देखिएको अस्वस्थताका कारण सक्रिय राजनीतिबाट बिदा हुने निर्णय गरेको छु । राजनीतिक यात्रामा साथ, सहयोग, विश्वास र माया प्रदान गर्नुहुने सबैप्रति सदैव ऋणी रहनेछु । आगामी दिनहरूमा पनि यहाँहरूको स्नेह, सद्भाव र शुभेच्छा निरन्तर रहने विश्वास लिएको छु । धन्यवाद ।’
उनले आफू केही वर्षयता एट्रोफीसम्बन्धी रोगबाट पीडित रहेको बताउँदै नसाहरू र मांसपेशीहरू क्रमशः खुम्चिदै जाने यस समस्याका कारण नियमित उपचार, थेरापी तथा औषधि सेवन गरिरहे पनि स्वास्थ्य अवस्थाले पार्टी काममा अपेक्षित साथ दिन नसकेको बताए । साथै, उनले अब पार्टीको सक्रिय राजनीतिबाट अलग भएर साधारण सदस्य मात्रै रहने विज्ञप्तिमा जनाएका छन् ।
‘यस यथार्थलाई आत्मसात गर्दै, निकै गहाँ मनका साथ आजकै मितिदेखि पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भई साधारण सदस्य रहने निर्णय गरेको जानकारी गराउन चाहन्छु । यो निर्णय कुनै असन्तुष्टि, गुनासो वा वैचारिक विचलनका कारण नभई केवल स्वास्थ्य अवस्थाले सिर्जना गरेको बाध्यात्मक परिस्थितिको परिणाम हो । यद्यपि, पार्टी जीवनको अन्तरसंघर्ष, नेतृत्व निर्माण र नेपालको राष्ट्रिय स्वाधिनताको सवालमा म सधै इमानदार र प्रतिबद्ध रहिरहे । पार्टीमा बिताएका वर्षहरू, आन्दोलनका स्मृतिहरु, सहकर्मी साथीहरूको आत्मीयता र देश तथा जनताप्रतिको मेरो प्रेम र प्रतिबद्धता कहिल्यै समाप्त हुने छैन । मेरो शरीर कमजोर भए पनि देशप्रतिको चिन्ता, जनताप्रतिको माया र समृद्ध नेपालको सपना अन्तिम श्वाससम्म जीवित रहनेछ ।’ उनले भने ।









प्रतिक्रिया