२२ असार २०८३, सोमबार

सिटिजन्स बैंकद्वारा म्याग्दीस्थित राखु भगवती स्वास्थ्य चौकीलाई सहयोग प्रदान

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत गण्डकी प्रदेश, म्याग्दीको रघुगंगा गाउँपालिका–२ स्थित राखु भगवती स्वास्थ्य चौकीलाई आवश्यक स्वास्थ्य सामग्री तथा स्वच्छ खानेपानी व्यवस्थापनका लागि पाइप सहयोग प्रदान गरेको छ । उक्त सहयोग बैंकको बेनी शाखामार्फत गरिएको हो ।

बैंकले स्वास्थ्य चौकीलाई अस्पताल बेड, बेबी वार्मर, औषधि ट्रली तथा स्वच्छ खानेपानी आपूर्तिका लागि आवश्यक एचडीपीई पाइप हस्तान्तरण गरेको छ । स्वास्थ्य चौकीले वडा नं. १ र २ का ४३०० भन्दा बढी स्थानीय बासिन्दालाई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । साथै, स्वास्थ्य चौकीमा सञ्चालन भइरहेको २४ घण्टे प्रसूति सेवा केन्द्रले ग्रामीण क्षेत्रका गर्भवती तथा सुत्केरी महिलालाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ ।

स्वास्थ्य चौकीको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने तथा स्थानीय समुदाय, विशेषगरी विपन्न र सीमान्तकृत परिवारको स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले उक्त सहयोग प्रदान गरिएको हो । यस सहयोगमार्फत स्वास्थ्य संस्थाको भौतिक तथा सेवा पूर्वाधार सुदृढ भई मातृ तथा शिशु स्वास्थ्य सेवासहित समग्र स्वास्थ्य सेवाको गुणस्तरमा सकारात्मक योगदान पुग्ने विश्वास बैंकले लिएको छ ।

आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको विषय जानकारी गराएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा एटिएम, ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ ईकाइहरुबाट २० लाख ३२ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।