काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको आगामी महाधिवेशनमा करिब ४ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
बिहीबार पार्टीको सचिवालय बैठकको निर्णय सुनाउँदै पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले चार करोडको अनुमान गरिएको बताएका हुन् । खर्च जुटाउने स्रोतका रूपमा प्रतिनिधिहरूबाट उठाइने दर्ता शुल्क र पार्टीका सदस्य तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोग रहेको उनको भनाइ छ ।
उनका अनुसार महाधिवेशन व्यवस्थापनका लागि आवश्यक सेवा तथा सामग्री उपलब्ध गराउने प्रदायक संस्थाहरूसँग आवश्यक सहुलियतका विषयमा छलफल भइरहेको छ। क्याटरिङ लगायत धेरै खर्च हुने व्यवसायीहरूले नाफा नलिई लागतका आधारमा मात्रै शुल्क लिने प्रस्ताव गरेको उनको भनाई छ।
महामन्त्री बुर्लाकोटीले भने, ‘हाम्रो महाधिवेशनको खर्च करिब ४ करोड जति हुने अनुमान छ। त्यो मध्ये प्रतिनिधिहरू हामीले रजिस्ट्रेसन शुल्कहरू तिर्छौँ र बाँकी रकम पार्टीकै सदस्यहरू, शुभचिन्तकहरूबाट सहयोगहरू आउँछ। हामीले सम्बन्धित प्रोभाइडर, सर्भिस प्रोभाइडर अथवा गुड्स प्रोभाइडरहरूसंग छुट दिने भन्ने विषयमा छलफल भइराखेको छ। जस्तै क्याटरिङमा हाम्रो ठूलो खर्च हुन्थ्यो, क्याटरिङवालाले नै हामी नाफा लिँदैनौँ, हामी नाफा कटाएर मात्रै तपाईंहरूलाई चार्ज गर्छौँ भन्ने यस्तो खाले प्रस्तावहरू आएको छ।’
रास्वपाको पहिलो महाधिवेशन चितवनको भरतपुरमा असार ७ देखि ९ गतेसम्म हुँदैछ।








प्रतिक्रिया