५ असार २०८३, शुक्रबार

विश्वकपमा कोलम्बियाको विजयी सुरुवात

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कोलम्बियाले उज्बेकिस्तानलाई ३–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ मा विजयी सुरुआत गरेको छ ।

मेक्सिकोको ऐतिहासिक अज्टेका स्टेडियममा भएको समूह ‘के’को खेलमा कोलम्बियाका लागि डानिएल मुनोज, लुइस डियाज र जामिन्टन क्याम्पाजले गोल गरेका थिए । यता विश्वकपमा डेब्यु गरिरहेको उज्बेकिस्तानका लागि अब्बोसबेक फेजुल्लाएभले एक गोल फर्काए ।

खेलको ४० औं मिनेटमा डानिएल मुनोजले लुइस डियाजको पासमा वान–टच फिनिसिङ गर्दै कोलम्बियालाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा उज्बेकिस्तानले उत्कृष्ट पुनरागमन गर्दै ६० औं मिनेटमा बराबरी गोल गर्‍यो । अब्बोसबेक फेजुल्लाएभले गोल गर्दै उज्बेकिस्तानका लागि विश्वकप इतिहासमा पहिलो गोल गर्ने खेलाडी बन्न सफल भएका छन् ।

बराबरीको खेलको केही समयमा नै लुइस डियाजले निर्णायक गोल गर्दै कोलम्बियालाई पुनः अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयको नवौं मिनेटमा जामिन्टन क्याम्पाजले गोल गर्दै कोलम्बियाको जित सुनिश्चित गरे ।

यस जितसँगै कोलम्बियाले समूह ‘के’ मा ३ अंक जोड्दै शीर्ष स्थान हासिल गरेको छ ।