काठमाडौं । फिफा विश्वकप २०२६ को समूह ‘एल’को खेलमा इंग्ल्याण्डले क्रोएसियालाई ४–२ गोलले पराजित गरेको छ ।
डलास रंगशालामा भएको रोमाञ्चक खेलमा इंग्ल्याण्डका कप्तान ह्यारी केनले दुई गोल गरे भने जुड बेलिङ्घम र मार्कस रासफोर्डले पनि गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।
क्रोएसियाका लागि मार्टिन बटुरिना र पिटर मोसेसले गोल गरे ।
इंग्ल्याण्डले खेलको सुरुवात आक्रामक रूपमा गर्यो । कप्तान ह्यारी केनले १२ औं मिनेटमा पेनाल्टीलाई गोलमा परिणत गर्दै टोलीलाई १–० को अग्रता दिलाए । सुरुवाती अग्रतापछि इंग्ल्याण्डले खेलमा नियन्त्रण कायम राख्यो । क्रोएसियाली रक्षापंक्तिमा निरन्तर दबाब दियो ।
पहिलो हाफको ३६ औं मिनेटमा क्रोएसियाले पुनरागमन गर्यो, मार्टिन बटुरिनाले उत्कृष्ट गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । तर ४२ औं मिनेटमा ह्यारी केनले आफ्नो दोस्रो गोल गर्दै इंग्ल्याण्डलाई २–१ को अग्रता दिलाए ।
पहिलो हाफ सकिनै लाग्दा क्रोएसियाले अतिरिक्त समयमा पुनरागमन गर्यो । ४५ प्लस ५ औं मिनेटमा पिटर मोसेसले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए ।
दोस्रो हाफमा इंग्ल्याण्डले आफ्नो आक्रमणलाई तीव्र बनायो । ४७ औं मिनेटमा जुड बेलिङ्घमले उत्कृष्ट गोल गर्दै इंग्ल्याण्डलाई ३–२ को अग्रता दिलाए । यो गोलपछि क्रोएसियाले बराबरी खेलको खोजी जारी राख्यो तर इंग्ल्याण्डको रक्षापंक्ति बलियो रह्यो ।
खेलको अन्तिम चरणसम्म क्रोएसियाले पुनरागमन गर्ने प्रयास गरेको थियो तर ८५ औं मिनेटमा मार्कस रासफोर्डले गोल गर्दै इंग्ल्याण्डलाई ४–२ को अग्रता दिलाए । त्यसपछि क्रोएसियाले पुनरागमन गर्न सकेन र इंग्ल्याण्डले जित हात पार्यो ।
जितसँगै इंग्ल्याण्डले समूह ‘एल’मा महत्वपूर्ण तीन अंक हासिल गर्यो ।








प्रतिक्रिया