५ असार २०८३, शुक्रबार

तत्कालीन माओवादीका ‘ब्रिगेड कमान्डर’ बटालाद्वारा आत्मसमर्पण

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । व्यापारी रामहरि श्रेष्ठ हत्या प्रकरणमा १० वर्ष कैद सजाय सुनाइएका तत्कालीन नेकपा (माओवादी) का ब्रिगेड कमान्डर तथा केन्द्रीय सदस्य गोविन्दबहादुर बटाला बुधबार सर्वोच्च अदालतमा उपस्थित भएका छन्।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार बटाला अदालतमा आफैं उपस्थित भएपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी नेपाल प्रहरीको जिम्मा लगाइएको छ। त्यसपछि उनलाई कारागार पठाइएको अदालतले जनाएको छ।

सर्वोच्च अदालतको पूर्ण इजलासले गत जेठ २८ गते सरकारको पुनरावलोकन निवेदनमाथि फैसला गर्दै यसअघि भएको सफाइको निर्णय उल्ट्याएको थियो। न्यायाधीशहरू डा. नहकुल सुवेदी, अब्दुल अजीज मुसलमान र शान्तिसिंह थापाको इजलासले बटालालाई रामहरि श्रेष्ठ हत्या प्रकरणमा दोषी ठहर गर्दै १० वर्ष कैद सजाय सुनाएको थियो।

यसअघि सोही मुद्दामा सर्वोच्च अदालतबाट बटालाले सफाइ पाएका थिए। सरकारको पुनरावलोकन निवेदनपछि मुद्दाको पुनः सुनुवाइ भएको थियो, जसमा अघिल्लो फैसला उल्टिएको हो।

रामहरि श्रेष्ठलाई २०६५ साल वैशाख १५ गते काठमाडौंको कोटेश्वरबाट नियन्त्रणमा लिएर चितवनको शक्तिखोरस्थित तत्कालीन माओवादी शिविरमा लगिएको थियो। त्यहाँ कुटपिटपछि उनको मृत्यु भएको आरोप छ। पछि उनको शव नारायणी नदी किनारबाट फेला परेको थियो। अनुसन्धानका क्रममा बटालाले श्रेष्ठलाई गाडीमा राखेर शिविरसम्म पुर्‍याउने कार्यमा आफ्नो संलग्नता रहेको बयान दिएका थिए।

प्रचलित कानुनअनुसार फैसला कार्यान्वयनका लागि तोकिएको अवधिभित्र अदालतमा उपस्थित भई कैद भुक्तान सुरु गर्ने व्यक्तिले जरिवानामा कानुनले व्यवस्था गरेको छुट पाउने प्रावधान रहेको छ।