ललितपुर । डीएभी कलेजका एक विद्यार्थीको मृत्यु घटनाको अनुसन्धानका क्रममा प्रहरीले फेला पारेको सुसाइड नोटमा कलेजको वातावरण र साथीभाइसँगको सम्बन्धलाई लिएर असन्तुष्टि व्यक्त गरिएको जनाएको छ।
कक्षा १२ मा अध्ययनरत आर्यन सिंहले सोमबार कलेज भवनबाट हाम फालेका थिए। गम्भीर घाइते भएका उनलाई तत्काल सुमेरु सिटी अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी गौतम मिश्रका अनुसार विद्यार्थीले हिन्दी रोमन लिपिमा लेखेको नोटमा आफू मानसिक तनावबाट गुज्रिरहेको संकेत गरेका छन्। नोटमा कसैको नाम उल्लेख गरिएको छैन भने कुनै व्यक्ति वा घटनालाई प्रत्यक्ष जिम्मेवारसमेत ठहर गरिएको छैन।
प्रहरीका अनुसार नोटमा परिवारप्रति कुनै गुनासो भेटिएको छैन। प्रारम्भिक अनुसन्धानले कलेजको वातावरण र साथीहरूसँगको सम्बन्धका कारण उनी मानसिक दबाबमा रहेको देखिए पनि घटनाको वास्तविक कारण यकिन गर्न थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
चावहिलमा परिवारसँग बस्दै आएका सिंह पर्साको वीरगञ्ज महानगरपालिका–२२ का स्थायी बासिन्दा थिए।








प्रतिक्रिया