काठमाडौं । विनयराज पौडेलको निर्देशनमा निर्माण भइरहेको नेपाली चलचित्र ‘अक्षरा’को छायांकन सकिएको छ । कलाकार तथा प्राविधिकहरूको कडा मिहिनेतका कारण पूर्व निर्धारित कार्यतालिका अनुसार नै ३७ दिनमा चलचित्रको सम्पूर्ण छायांकन पूरा भएको हो ।
चलचित्रका निर्देशक पौडेलले सबैको बलियो सहकार्य र अथाह मिहिनेतले गर्दा सहज रूपमा तोकिएकै समयभित्र सुटिङ सम्पन्न गर्न सफल भएको बताउँदै सम्पूर्ण टिमलाई धन्यवाद दिएका छन् ।
चलचित्रको सुटिङ समापन गर्नुअघि गत सोमबार मात्रै निर्माण टोलीले तीज पर्वलाई लक्षित गर्दै तयार पारिएको “नाँचौं न बरि लै’ बोलको गीतको छायांकन गरेको थियो । उक्त गीतमा सुरेन्द्र रानाको शब्द, कर्णराज गिरीको संगीत र चर्चित गायिका समीक्षा अधिकारीको स्वर रहेको छ ।
क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको यस चलचित्रमा सुशील सिटौला, न्यान्सी खड्का, सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी र सृष्टि खड्काको मुख्य अभिनय रहनेछ ।
यसैगरी, चलचित्रमा बालकलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुङ्गानालाई पनि देख्न सकिनेछ ।
चलचित्रका निर्माता उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना हुन् भने कार्यकारी निर्माताका रूपमा सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने रहेका छन् । चलचित्रको कथा निर्माता उग्रसेन आफैँले लेखेका हुन् भने पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलको छ ।
दिपेन बस्न्यातको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी र शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको यस चलचित्रमा मदन न्यौपानेको श्रृङ्गार, प्रार्थना भट्टराईको भेषभूषा र सुमन काफ्लेको निर्माण व्यवस्थापन रहेको छ ।
यस्तै, मुख्य सहायक निर्देशकमा दिवस विक्रम बोहोरा र सहायक निर्देशकहरूमा मनोज बोहोरा र सौरभ शाह रहेका छन् ।
यसअघि दर्जनौँ नेपाली चलचित्रहरूमा सहायक निर्देशकका रूपमा लामो अनुभव बटुलिसकेका विनयराज पौडेलले यसै चलचित्रमार्फत स्वतन्त्र निर्देशकका रूपमा डेब्यु गर्न लागेका हुन् ।
राकेश दाहालले पोस्टर डिजाइन गरेको यो चलचित्र आगामी भदौ २६ गतेबाट देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने तयारीमा छ ।
चलचित्रलाई नेशनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले वितरण गर्ने जिम्मा लिएका छन् ।








प्रतिक्रिया