८ श्रावण २०८३, शुक्रबार

भीमफेदीको जीर्ण पुलको मर्मत सक्न मन्त्री देवकोटाको निर्देशन, नयाँ पुलको ठेक्का प्रक्रिया अन्तिम चरणमा

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री डा. दिनेशचन्द्र देवकोटाले हेटौंडा–काठमाडौं मार्गमा पर्ने जीर्ण चिसापानी पुलको स्थलगत निरीक्षण गरेका छन् । मंगलबार मन्त्री देवकोटाले भीमफेदी–कुलेखानी खण्डअन्तर्गतको उक्त पुलको अवस्थाबारे जानकारी लिएका हुन् ।

हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने र फर्कने हजारौँ सवारीसाधन गुड्ने यो पुल करिब ३० वर्ष पुरानो हो । काठ, फलाम, ढुङ्गा र सिमेन्ट प्रयोग गरी परम्परागत शैलीमा निर्माण गरिएको यस पुलको काठ कुहिएपछि संरचना जोखिमपूर्ण बनेको छ । पुल जुनसुकै बेला भत्किएर दुर्घटना हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै मन्त्री देवकोटाले असार महिनाभित्रै मर्मत सम्पन्न गर्न निर्देशन दिए । उनले तोकिएकै समयमा काम सक्नेगरी आवश्यक जनशक्ति परिचालन गर्न समेत कर्मचारीहरूलाई निर्देशित गरे ।

निरीक्षणका क्रममा मन्त्री देवकोटाले संघीय राजधानी र प्रदेश राजधानी जोड्ने यो सडक यात्रुको मुख्य रोजाइमा पर्ने भएकाले तत्कालका लागि सवारी चापलाई ध्यान दिएर मर्मत गर्न लागिएको बताए । उनले सो स्थानमा नयाँ पक्की पुल निर्माणका लागि स्रोत सुनिश्चित भई ठेक्का प्रक्रिया अघि बढिसकेको र सम्झौता भएलगत्तै काम सुरु हुने जानकारी दिए ।

पूर्वाधार विकास कार्यालय मकवानपुरका अनुसार असार २०–२२ गतेभित्र काम सक्ने गरी मर्मत कार्य तीव्र गतिमा भइरहेको छ । कार्यालयका सब–इन्जिनियर वसन्त पौडेलका अनुसार तानसेनमा पक्की पुल बनेपछि प्रयोगविहीन अवस्थामा रहेको बेलीब्रिजका सामग्री ल्याएर यहाँ मर्मत सुरु गरिएको हो । करिब १० लाख रुपैयाँको लागतमा २० दिनभित्र मर्मत सक्ने गरी श्री गौरव नेपाल इन्जिनियर्स प्रालिलाई जिम्मेवारी दिइएको छ ।

मर्मतका क्रममा पुलका कुहिएका काठ र खिएका फलामका पार्टपुर्जाहरू परिवर्तन गरिनेछ । नयाँ पुल नबनुञ्जेल पुरानै पुलबाट सुरक्षित यात्रा गर्ने वातावरण सुनिश्चित गर्न यो अल्पकालीन मर्मत गरिएको हो । सोही स्थानमा करिब ९ करोड रुपैयाँको लागतमा ५५ मिटर लामो र ११ मिटर चौडा नयाँ पक्की पुल निर्माणका लागि ठेक्का सम्झौता अन्तिम चरणमा पुगेको सब–इन्जिनियर पौडेलले बताए ।

चालु आर्थिक वर्षभित्रै ठेक्का सम्झौता भई आगामी आर्थिक वर्षबाट नयाँ पुलको निर्माण सुरु हुनेछ ।

साँघुरो र जीर्ण पुलका कारण जोखिमपूर्ण यात्रा गर्न बाध्य चालक, यात्रु र स्थानीय बासिन्दाहरू पुल मर्मत हुने र नयाँ पुल बन्ने खबरले हर्षित भएका छन् ।