काठमाडौं । नेपाली लोकदोहोरी संगीतका लोकप्रिय तथा युवा पुस्तामाझ विशेष रुचाइएका गायक शक्तिकुमार गोदार र अहिलेकी चर्चित गायिका अस्मिता डल्लाकोटीको नयाँ लोकदोहोरी गीत ‘हुन्न भनेकी’ सार्वजनिक भएको छ ।
अडियो रिलिज हुनुअघि नै टिकटक लगायतका सामाजिक सञ्जालमा भाइरल बनेको यो गीतको म्युजिक भिडियो गत शुक्रबार सार्वजनिक गरिएको हो ।
गीतमा शब्द तथा संगीत सिर्जना स्वयं गायक गोदारले गरेका छन् । भिडियोमा गोदार र डल्लाकोटी स्वयंले अभिनय गरेका छन् ।
भिडियोको छायांकन राजेश घिमिरेले गरेका हुन् भने निर्देशन तथा कोरियोग्राफी जेरी भण्डारीको रहेको छ । गीत अस्मिता डल्लाकोटीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । संगीत संयोजन सुनिल परियारले गरेका छन् ।
प्रेम, आकर्षण र रमाइला नोकझोकको कथामा आधारित गीतले दर्शक तथा श्रोताको मन जित्ने अपेक्षा गरिएको छ ।
गीतमा एक युवकले युवतीलाई मन पराएर विवाहको प्रस्ताव राख्दै आफूलाई योग्य सावित गर्न खोजेको देखिन्छ भने अर्कोतर्फ युवती आफ्नो सौन्दर्य, व्यक्तित्व र आत्मविश्वासप्रति गर्व गर्दै प्रस्तुत भएकी छिन् ।
‘हुन्न भनेकी मुखले, हुन्न भने नि मनले माया बुन्न भनेकी’जस्ता शब्दमार्फत प्रेमको प्रारम्भिक अनुभूति र दुई पात्रबीचको रोचक संवादलाई जीवन्त बनाइएको छ ।
युवकले विभिन्न शैलीमा युवतीलाई प्रभावित पार्ने प्रयास गर्दा युवतीले आत्मविश्वासपूर्ण जवाफ दिँदै ‘राम्रैले त भाउ खान्छन्’ भन्ने भाव प्रस्तुत गरेकी छिन् । दैनिकजसो नयाँ गीत सार्वजनिक भइरहेका नेपाली लोकसंगीत बजारमा ‘हुन्न भनेकी’ले आफ्नो छुट्टै पहिचान बनाउन सक्ने विश्वास निर्माण टोलीको छ ।
प्रत्यक्ष दोहोरी तथा विभिन्न सिर्जनामार्फत दर्शकको माया पाउँदै आएका शक्तिकुमार गोदार र अस्मिता डल्लाकोटीको यो नयाँ प्रस्तुति पनि श्रोता–दर्शकमाझ लोकप्रिय बन्ने अपेक्षा गरिएको छ।
आफ्नो सौन्दर्यप्रति गर्व गर्ने एक युवती र उनलाई मन पराउने युवकबीचको रोचक प्रेम संवादलाई समेटिएको ‘हुन्न भनेकी’ले नेपाली लोकदोहोरी संगीतमा थप रौनकता ल्याउने विश्वास गरिएको छ ।
गायक गोदारले सार्वजनिक भएको छोटो समयमै ‘हुन्न भनेकी’ले सफलता पाउँदा खुसी लागेको बताए ।








प्रतिक्रिया