काठमाडौं । विश्वकप २०२६ अन्तर्गत मंगलबार अमेरिकामा खेलेको इरानी टोलीका प्रमुख प्रशिक्षक अमिर घलेनोईले टोलीलाई खेललगत्तै अमेरिका छोडेर मेक्सिको फर्कन आदेश दिइएको बताएका छन् । उनका अनुसार खेलाडीहरूमा मानसिक दबाब दिइएको थियो ।
घलेनोईले आफूहरूको योजना क्यालिफोर्नियामा रात बिताउने र भोलिपल्ट दिउँसो मेक्सिकोको तिजुआना फर्कने रहेको तर खेलपछि सबैलाई तुरुन्तै जान भनिएको बताए ।
‘हामीलाई निको हुन समय पनि दिइएन । खेलपछि तुरुन्तै हामी विमानमा चढेर तिजुआना फर्कनुपर्यो,’ उनले भने ।
उनले जारी विश्वकपमा आफ्नो टोली सबैभन्दा प्रभावित भएको बताए ।
‘मलाई लाग्छ हाम्रो टोली सम्पूर्ण विश्वकपमा सबैभन्दा प्रभावित टोली हो । हाम्रो संघ यहाँ छैन, हाम्रो मिडिया यहाँ छैन, र हाम्रो व्यवस्थापन यहाँ छैन ।’ प्रशिक्षक घलेनोईले भने ।
मंगलबार बिहान लस एन्जलसमा समूह ‘जी’मा इरानले न्युजिल्यान्डसँग खेल्यो । इरान र न्युजिल्यान्डबीचको खेल २–२ गोलको बराबरीमा सकिएको थियो ।
खेलपछि इरानका कप्तान मेहदी तारेमीले यात्रा व्यवस्थापनप्रति असन्तुष्टि व्यक्त गरे । उनका अनुसार टोलीलाई तिजुआनाबाट लस एन्जलस पुग्न लगभग पाँच घण्टा लागेको थियो ।
सुरक्षा जाँच र अन्य प्रक्रियाहरूका कारण खेलाडीहरूले थप कठिनाइहरूको सामना गर्नुपरेको उनको भनाई छ ।
उनले आफ्नो टोलीले फिफाबाट थप सहयोगको अपेक्षा गरेको बताए । उनले भने, ‘यस समयमा हाम्रो लागि सबै कुरा धेरै गाह्रो भएको छ ।’
इरानले आफ्नो खेल अभ्यास क्याम्प मेक्सिकोको तिजुआनालाई बनाएको छ । जसकारण टोलीलाई प्रत्येक खेलका लागि अमेरिका पुग्न अतिरिक्त यात्रा गर्नुपर्ने हुन्छ ।
इरानले अब समूह चरणमा बेल्जियम र इजिप्टको सामना गर्नेछ ।
न्युजिल्यान्डसँगको बराबरीपछि टोलीमाथि आगामी खेलमा राम्रो प्रदर्शन गर्ने मनोबल बढेको छ ।








प्रतिक्रिया