२१ असार २०८३, आइतबार

पर्वत सेवा समाज अमेरिकाको अध्यक्षमा पूर्ण श्रेष्ठ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका । पर्वत सेवा समाज न्यूयोर्क अमेरिकाको दोस्रो महाधिवेशन न्यूयोर्कको हिक्सभिलस्थित भिलेज ग्रिन परिसरमा भव्य रूपमा सम्पन्न भएको छ । महाधिवेशनले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ ।

नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा पूर्ण श्रेष्ठ चयन भएका छन् ।

त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा अर्जुन लामिछाने, उपाध्यक्षमा किशोर लामिछाने, महिला उपाध्यक्षमा पुष्पा रेग्मी, महासचिवमा प्रकाश शर्मा, सचिवमा सविन क्षेत्री तथा कोषाध्यक्षमा राजन गुरुङ चयन भएका छन् । सदस्यहरूमा युवक श्रेष्ठ, सुदिनकुमार परियार, एमप्रसाद रिजाल, केशव सुवेदी, प्रकाश क्षेत्री तथा निशान पौडेल क्षेत्री निर्वाचित भएका छन् ।

महाधिवेशनको सभाध्यक्षता समाजका निवर्तमान अध्यक्ष सूर्य पौडेलले गरेका थिए । कार्यक्रममा संस्थापक अध्यक्ष हेमन मल्ल प्रमुख अतिथि तथा संस्थाका संरक्षक बाबुराम शर्मा विशिष्ट अतिथिका रूपमा उपस्थित थिए ।

निर्वाचन अधिकृतको भूमिका संस्थाका सल्लाहकार बसन्त चापागाईंले निर्वाह गरेका थिए भने निर्वाचन समितिमा संस्थाका अग्रज माया गिरी र कृष्ण कँडेल रहेका थिए ।

कार्यक्रममा एनआरएनए एनसीसी न्यूयोर्क च्याप्टरका अध्यक्ष दण्डपानी (बासु) लामिछानेले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै स्वागत मन्तव्य दिएका थिए । समाजमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका विभिन्न अग्रज व्यक्तित्वहरूले समेत शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन निवर्तमान सचिव विशाल रेग्मीले गरेका थिए । संस्थाका महासचिव प्रकाश शर्माले कार्यकाल २०२४/२०२६ को वार्षिक प्रगति प्रतिवेदन तथा आय–व्यय विवरण प्रस्तुत गरेका थिए ।

महाधिवेशनमा न्यूयोर्कसहित अमेरिकाका विभिन्न राज्यहरूमा बसोबास गर्दै आएका पर्वतबासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रमका क्रममा समाजका संरक्षक, निवर्तमान अध्यक्ष तथा निर्वाचन अधिकृतले नवनिर्वाचित पदाधिकारीहरूलाई शपथ ग्रहण गराउँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

यस अवसरमा बाग्लुङ सेवा समाज तथा बाग्लुङ स्पोर्ट्स क्लबद्वारा आयोजित प्रथम बाग्लुङ कपमा सहभागिता जनाउने सम्पूर्ण भलिबल खेलाडीहरूलाई सम्मान तथा बधाई ज्ञापन गरिएको थियो । साथै, नेपाल डे परेडमा सक्रिय सहभागिता जनाउनेहरूलाई समाज तथा एनआरएनए एनसीसीको तर्फबाट प्राप्त प्रशंसापत्र वितरण गरिएको थियो ।

महाधिवेशनले पर्वतबासीहरूबीच आपसी एकता, सहकार्य र सामाजिक सेवाको भावनालाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्दै सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ ।