२१ असार २०८३, आइतबार

एमाले कुनैपनि छानबिन र अग्नि परीक्षा सामना गर्न तयार छ : सांसद बराल

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)का सांसद गुरुप्रसाद बरालले सरकारको कार्यशैली, सीमा विवाद, बजेटमा गरिएको करका दर हेरफेर तथा सुशासनका विषयमा कडा आलोचना गरेका छन् ।

सोमबार संघीय संसद भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै सांसद बरालले देश सुशासन र विधिको शासनबाट मात्र अघि बढ्नसक्ने भए पनि वर्तमान सरकार त्यसमा चुकेको टिप्पणी गरे ।

बरालले प्रधानमन्त्री बालेन साहको पछिल्लो अभिव्यक्तिका कारण सुस्ता क्षेत्रमा भारतीय अतिक्रमण बढेको र त्यहाँका नागरिक राज्यको उपस्थितिबिना पनि आफ्नो भूमिको रक्षा गर्न बाध्य भएको बताए ।

परराष्ट्रमन्त्री शिशिर खनालको हालैको भारत भ्रमणका क्रममा सीमा समस्याबारे स्पष्ट कुरा नभएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । साथै, हाल भइरहेको चीन भ्रमणमा लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा ठोस छलफल हुनुपर्ने माग पनि उनले गरे ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमार्फत करका दरमा गरेको हेरफेरलाई सांसद बरालले अवाञ्छित र निश्चित समूहलाई लाभ पुर्‍याउने उद्देश्यबाट प्रेरित भएको बताए ।

५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने घरेलु उपभोक्तामाथि कर लगाउने व्यवस्थालाई बरालले जनताको भान्सामाथिको आक्रमण भन्दै आलोचना गरे ।

निर्माण व्यवसायीलाई लक्षित गरी भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले दिएको भनिएको अभिव्यक्तिप्रति पनि उनले आपत्ति जनाउँदै विधिको शासनमा हिंसा र धम्की स्वीकार्य नहुने स्पष्ट पारे ।

सरकारले विगतका काण्डहरूको फाइल खोल्ने चेतावनीप्रति प्रतिक्रिया दिँदै सांसद बरालले एमाले कुनै पनि छानबिन र अग्नि परीक्षा सामना गर्न तयार रहेको बताए ।

सुदूरपश्चिमको गोदावरीमा वनरक्षकले अटो भीरबाट खसालेको भनिएको घटनाप्रति दुःख व्यक्त गर्दै उनले यसलाई ‘शक्तिको दम्भ’को संज्ञा दिए ।

सांसद बरालले सरकारलाई महँगी नियन्त्रण, शिक्षा क्षेत्रमा शुल्क वृद्धि रोकथाम र सुशासन कायम गर्न आग्रह पनि गरे ।