१८ असार २०८३, बिहिबार

काठमाडौं महानगरको नीति तथा कार्यक्रम पारित

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आर्थिक वर्ष २०८३/०८४ का लागि काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित भएको छ ।

आज कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको नगर सभाको बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो । बैठकमा कार्यवाहक प्रमुख डंगोलले कार्यपालिका सदस्यहरूबाट प्राप्त राय, सुझाव र सल्लाहलाई आधार बनाएर नीति तथा कार्यक्रम संशोधनसहित पारित गर्न प्रस्ताव पेश गरेकी थिइन् ।

उनले कार्यपालिका सदस्यहरुवाट प्राप्त सुझावले बजेट, आर्थिक विधेयक र विनियोजन विधेयक निर्माणमा सहयोग पुग्ने बताइन् ।

काठमाडौं महानगरले सुशासनयुक्त, छिटो, छरितो, जनमुखी तथा सहज सेवा प्रवाहलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले सदस्यहरूबाट आएका नवीन तथा सिर्जनात्मक सुझाव कार्यान्वयन गर्ने जानकारी दिइन् ।

केही सुझाव महानगरपालिकाले बनाएका ऐन तथा कानुन संशोधनसँग सम्बन्धित रहेको भन्दै उनले आवश्यक प्रक्रिया अघि बढाइने प्रतिवद्धता पनि जनाइन् ।

‘यहाँहरुले राख्नुभएको राय, सल्लाह, सुझावलाई आधारित बनाएर नीति तथा कार्यक्रम, बजेट बनाउँनेछौँ । हामीले बनाउने आर्थिक विधेयक र विनियोजन विधेयकमा पनि यहाँहरुले राख्नुभएको राय सुझावले योगदान पुर्‍याउनेछ, काठमाडौं महानगरबासीले साँच्चिकै महानगरपालिकाले गरिरहेको कामको आवास गर्न सक्नुहुनेछ । हामीले नै बनाएका ऐन कानूनहरुमा संशोधन गर्नु आवश्यक भएका केही सुझावहरु पनि आएका छन् । त्यसका लागि आवश्यक कारवाही अगाडि बढाउनेछौँ । साथै, काठमाडौं महानगरपालिकालाई हामीले सुशासनयुक्त र सँगसँगै हामीले प्रवाह गर्ने सेवाहरु छिटो, छरितो, जनतामुखी र सँगसँगै सरल र सहज पनि होस् भन्ने हामी सबैको उद्देश्य हो । यसका लागि यहाँहरुले दिनुभएको नविन र सँगसँगै श्रृजनात्मक सुझावहरु पक्कै पनि उपयोगी छन्, नीति कार्यक्रम बजेट र सँगसँगै हामीले बनाउने ऐन कानूनहरुमा पनि यसले उल्लेखनीय योगदान पुर्‍याउनेछ । यसतर्फ हाम्रो ध्यानाकृष्ट भएको पनि छ र यसलाई क्रमशः रुपमा कार्यान्वयन गर्दै लग्नेछौँ ।’ डंगोलले भनिन् ।

आज पारित भएको नीति तथा कार्यक्रमका आधारमा आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम तर्जुमा हुनेछ । नगर सभाको अर्को असार ४ गते दिउँसो ३ बजे बस्नेछ ।