काठमाडौं । नेकपा (एमाले)का राष्ट्रिय सभा संसदीय दलका नेता डा. प्रेमप्रसाद दंगालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग गरेका छन् ।
सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै दंगालले आर्थिक विधेयक र आय, व्ययको अनुमान समेत प्रस्तुत भइसकेपछि करको दर हेरफेर गर्ने अपराध गरेकाले अर्थमन्त्री वाग्लेले पदबाट राजीनामा दिनुपर्ने बताएका हुन् ।
सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै नेता दंगालले संसदीय छानविन समिति गठन गरी अर्थमन्त्री वाग्लेमाथि छानबिन गरी कारबाही गर्नुपर्ने पनि बताए । उनले सरकारले ल्याएको बजेटले समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य नलिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।
‘संसद्मा राजश्व र व्ययको अनुमान र आर्थिक विधेयक प्रस्तुत भइसकेपछि करका दरहरू हेरफेर गरियो । यो घटनाको सत्यतथ्य तत्काल छानबिन गर्न जरुरी छ । र, दोषउपर कडा कारबाही गर्न जरुरी छ,’ नेता दंगालले भने, ‘यत्रो घटना नेतृत्वको संलग्नता बेगर सम्भव नै छैन । त्यसो हुनाले अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्दछ । संसदीय छानबिन समिति गठन गर्नुपर्दछ ।’







प्रतिक्रिया